१३ भदौ, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सुमनविक्रम पाण्डेले विपद्को समयमा सेना परिचालन गरेर नागरिकलाई त्रसित वा अपमानित हुने अवस्था सिर्जना नगर्न नुवाकोटका प्रशासनिक अधिकारीहरूलाई आग्रह गरेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पाण्डेले जिल्लाका सम्पूर्ण अधिकारी तथा पदाधिकारीहरू सुरक्षित स्थानमा बसेर नागरिकको समस्या समाधानका लागि बाहिर प्रभावकारी रूपमा समन्वय र सहजीकरण गर्नुपर्ने बताएका हुन्।
नुवाकोटमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणप्रति समेत नागरिकस्तरमा प्रश्न उठिरहेको अवस्थामा पाण्डेले सामाजिक सञ्जालमार्फत प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
पाण्डेले अधिकारीहरू कार्यालय वा ब्यारेकभित्र सीमित भएर बाहिर सुरक्षाकर्मी परिचालन गर्नुको सट्टा विपद् प्रभावित क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद, परामर्श र सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिल्लाको सम्पूर्ण अधिकारीहरू ब्यारेकभित्र बसेर बाहिर सेना लगाएर जनता अपमानित गर्न भएन। विपद्को बेला परामर्श र सहजीकरण ठूलो औषधि हुन्छ। बाहिर केन्द्र सञ्चालन गर्नुहोस्, जिम्मेवार बन्नुहोस् !’
बाढीपहिरोका कारण नुवाकोटको क्षेत्र नम्बर २ का विभिन्न स्थानमा सडक, पुल तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै नागरिकको जनजीवन प्रभावित भएको छ। यस्तो अवस्थामा राज्यका निकायले नागरिकको गुनासो सुन्ने, तत्काल उद्धार तथा राहतको व्यवस्था गर्ने र प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थित भएर काम गर्नुपर्ने पाण्डेको भनाइ छ।
विपद्को समयमा सुरक्षा संयन्त्रको परिचालन आवश्यक भए पनि नागरिकमैत्री व्यवहार, प्रभावकारी सूचना सम्प्रेषण र स्थानीय तह तथा सरोकारवाला निकायबीचको समन्वयलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्