भाेटेकाेशी विनाशकारी बाढीले नुवाकोटका त्रिशूलीसहित ११ सहकारी पूर्ण ध्वस्त, करोडौँको क्षति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १३, शनिबार १६:२७

नुवाकोट । भाद्र १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा रहेका सहकारी संस्थाहरूमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार जिल्लाका कम्तीमा ११ वटा सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।


नेस्काेन अध्यक्ष नारायण श्रेष्ठका अनुसार बाढीका कारण पूर्णरूपमा क्षति भएका सहकारीहरूमा साँघु बहुद्देश्यीय सहकारी संस्था, उपकार बचत तथा ऋण सहकारी, त्रिशूली बचत तथा ऋण सहकारी, दक्षिणकाली बचत तथा ऋण सहकारी, कुलभक्तेश्वर बचत तथा ऋण सहकारी, मातृभूमि बहुद्देश्यीय सहकारी र मातामनकामना बचत तथा ऋण सहकारी विदुर–१ मा रहेका छन्। त्यस्तै हाम्रो सहकारी विदुर–७, शुभकामना बहुद्देश्यीय सहकारी र उत्तरगया बचत तथा ऋण सहकारी विदुर–१० तथा जाल्पादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड देवीघाट पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।


विदुर–१ मा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको भवन नै बाढीले पूर्णरूपमा पुरिएको छ। सहकारीमा रहेका नगद, फर्निचर, कम्प्युटरलगायत कार्यालयका महत्वपूर्ण सामग्री पुरिँदा ठूलो आर्थिक क्षति भएको सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिनुभयो।


अध्यक्ष श्रेष्ठका अनुसार भवनसहित सहकारीको करिब साढे दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ। बाढीले ढुंगे क्षेत्रमा रहेका सहकारी संस्थाहरूमा पनि यस्तै ठूलो क्षति पुर्‍याएको छ।
बाढीले सहकारीका भौतिक संरचना र सामग्रीमा मात्र नभई सफ्टवेयर तथा डिजिटल अभिलेखमा समेत जोखिम सिर्जना गरेको छ। जिल्लाका केही सहकारीले प्रयोग गर्दै आएका सफ्टवेयर लक भएका कारण बाढीपछि ती प्रणालीबाट विवरण रिकभर गर्न कठिनाइ भएको बताइएको छ।


तर, त्रिशूली बचत तथा ऋण सहकारीले प्रयोग गर्दै आएको सफ्टवेयर इन्फोडेभलपमेन्ट, सानेपामार्फत सञ्चालित भएकाले आफ्नो संस्थाको सम्पूर्ण डाटा सुरक्षित रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो। सहकारीका बचतकर्ता तथा ऋणीहरूको विवरण सुरक्षित रहेको भन्दै उहाँले अवस्था सामान्य हुनासाथ सहकारीको सेवा पुनः सञ्चालन गर्ने जानकारी दिनुभयो।


यसैबीच, बाढीबाट प्रभावित संगम सहकारीका शेयर सदस्य तथा सञ्चालकसहित केही व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ। सम्पर्कविहीन हुनेमा नरेन्द्र जोशी, सरिता जोशी, चन्द्रकला पुवाल, हिराकृष्ण श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, देवकुमारी श्रेष्ठ र कोपिला श्रेष्ठ रहेको विवरण प्राप्त भएको छ।


नुवाकोटमा जिल्ला सदरमुकामसहित करिब ३ सय सहकारी संस्था सञ्चालनमा रहेका छन्। तीमध्ये त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीले ठूलो संख्यामा सहकारी तथा वित्तीय संस्थाहरू प्रभावित भएका छन्। बाढीका कारण बेत्रावती, भैंसे, त्रिशूली, ढुंगे, देवीघाट, महादेवफाँट र कोल्पुटारलगायतका बजार तथा बस्तीमा व्यापक क्षति पुगेको छ।
ऐतिहासिक बजार क्षेत्रहरू समेत बाढीको चपेटामा परेपछि हजारौँ नागरिक विस्थापित भएका छन् भने सयौँ व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीयस्तरबाट जानकारी आएको छ। अचानक आएको बाढीका कारण नुवाकोटसहित धादिङ, गोरखा र चितवनसम्मको जनजीवन प्रभावित भएको छ।


बाढी र पहिरोका कारण नुवाकोटमा मात्रै अरबौँ रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। सडक, पुल, बजार, घर, व्यवसाय, सहकारी तथा अन्य संरचनामा भएको क्षतिको पूर्ण विवरण संकलन हुन भने बाँकी छ।


त्रिशूली नदीमा आएको बाढीले जिल्लाको आर्थिक तथा सामाजिक संरचनामै गम्भीर असर पारेपछि अहिले प्रभावित क्षेत्रका नागरिकहरू भय र अनिश्चितताबीच सामान्य जनजीवनमा फर्किने प्रयास गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *