
डा. एलिना शर्मा पौडेल,आयुर्वेद चिकित्सक
गैर–संक्रामक रोगहरू ती रोगहरू हुन् जुन अस्वस्थ आहार, जीवनशैली, र मानसिक असन्तुलनका कारण उत्पन्न हुन्छन्, । यी रोगहरू व्यक्तिको सम्पर्कबाट फैलिँदैनन् । गैर–संक्रामक रोगहरूको मुख्य कारण अस्वस्थ आहार, शारीरिक गतिविधिको अभाव, मानसिक तनाव, र अनुशासनविहीन जीवनशैली हुन् । अत्यधिक फास्ट फूड, नुन र चिनीको अधिक सेवन, सूर्तिजन्य पदार्थको सेवन, शारीरिक आलस्य, र प्रदूषणका कारण यी रोगहरूको जोखिम अत्यधिक बढ्छ । यी रोगहरूले हाम्रो स्वास्थ्यलाई मात्र होइन, जीवनको गुणस्तरलाई समेत गम्भीर रूपमा असर पुर्याउँछन् ।
WHO अनुसार मुख्य गैर–संक्रामक रोगहरूः
१. हृदय रोग Heart Disease)
२. क्यान्सर -Cancer
३. मधूमेह (Diabetes )
४. दिमागी रगतको प्रवाहमा समस्या (Stroke)
५. श्वासप्रश्वास सम्बन्धी रोग (Chronic Respiratory Diseases)
१९९० देखि २०२१ सम्मका तथ्यांक संकलन गरी प्रकाशन गरेको ‘ग्लोबल बर्डेन अफ डिजिज २०२१’ नामक अध्ययन अनुसार विश्वभरि मृत्युका प्रमुख तीन कारणहरूमा मुटु सम्बन्धी रोग २८.६१ प्रतिशत, श्वासप्रश्वास सम्बन्धी संक्रमण तथा क्षयरोग १६.५ प्रतिशत र क्यान्सर १४.५ प्रतिशत छ । नेपालमा गैर–संक्रामक रोगहरूको NCDs जोखिम र प्रभावमा हालैका वर्षहरूमा वृद्धि भएको छ । WHO का अनुसार, २०२२ मा ७०% भन्दा बढी मृत्युहरू ल्ऋम्क का कारण भएका छन्, र १८–३० वर्षका युवाहरूमा पनि यसको प्रभाव बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालय तथा विभिन्न स्वास्थ्य सम्बन्धी संस्थाहरूको प्रतिवेदन अनुसार नेपालमा ३० वर्षको अवधिमा नसर्ने रोगका कारण हुने मृत्युदर दोब्बरभन्दा बढीले बढेको देखाइएको छ । सन् १९९० मा नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको भार ३१.३ प्रतिशत थियो । सन् २००० मा उक्त दर बढेर ४३.२ प्रतिशत पुगेको थियो ।
आयुर्वेदको विकास
आयुर्वेद एक प्राचीन चिकित्सा पद्धति हो । जसले शरीर, मन र आत्माको सन्तुलन राखेर प्राकृतिक औषधि, आहार र ध्यानमार्फत रोगहरूको रोकथाम र उपचार गर्छ। आयुर्वेदमा, ल्ऋम्क को उपचार शरीरका तीन दोष – वात, पित्त र कफको सन्तुलन पुनः स्थापना गर्नमा केन्द्रित हुन्छ । जब यी दोषहरू सन्तुलित अवस्थामा हुन्छन्, तब शरीर स्वस्थ रहन्छ; र यदि ती असन्तुलित हुन्छन् भने, रोगहरूको उत्पत्ति हुन सक्दछ । उदाहरणको लागि, कफको असन्तुलनले मोटोपन, मधुमेह र हृदय रोगहरू उत्पन्न हुन्छ । वात दोषको दुष्टि पाचन समस्याहरू, सूखापन र मानसिक तनावको कारण बनाउँछ, । डिजेनेरेटिव परिवर्तन, न्यूरोला ,जिकल (विकार), अल्जाइमर जस्ता घातक रोगहरू आहार र जीवनशैलीको असन्तुलनबाट उत्पन्न हुन्छ ।
गैर–संक्रामक रोगहरू (NCDs) आजकल विश्वभरि व्यापक समस्या बका छन् । स्वास्थ्य, अर्थतन्त्र र सामाजिक जीवनमा समेत यसको नकारात्मक प्रभाव परेको छ । यी समस्याहरूको उपचार र व्यवस्थापनमा पारम्परिक चिकित्सा प्रणाली जस्तै आयुर्वेद ,योग, ध्यानहरुले महत्वपूर्ण भूमिका खेल्दछन् । आयुर्वेद एक प्राचीन चिकित्सा पद्धति हो । जसले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई समग्र दृष्टिकोणबाट हेरि जीवनको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्दछ । आयुर्वेद अनुसार, स्वस्थ जीवनको आधार सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, योग, प्राणायाम, समयमै निद्रा तथा मानसिक शान्तिमा आधारित छ । आयुर्वेदमा पाचन शक्ति सुदृढ पार्न र शरीरको प्राकृतिक प्रणालीलाई सन्तुलनमा राख्न विशेष ध्यान दिइन्छ । आयुर्वेदमा दिनचर्या (Dincharya) का महत्वपूर्ण सिद्धान्तहरू छन्, ।
जसमा प्रातःकालको एकदम महत्वपूर्ण भूमिका रहन्छ । प्रातकालमा सर्वप्रथम पर्युषित जल पिउने योग र ध्यान अभ्यास गर्ने, विभिन्न शारीरिक गतिविधिमा संलग्न हुने, र मौसमअनुसार आहारमा विविधता राख्ने कार्यहरू महत्वपूर्ण मानिन्छ । दिनचर्यामा नियमित र स्वस्थ गतिविधिहरूको पालन गर्दा शरीर र मस्तिष्क बीचको सन्तुलन कायम रहन्छ र पाचन प्रणाली मजबुत बनाउँछ । यस्तै यस पद्धतिमा शरीरको प्रकृति र जीवनशैलीको सन्तुलनमा जोड दिइन्छ, जसले रोगहरूको रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ । आयुर्वेदले समग्र स्वास्थ्यलाई प्रवद्र्धन गर्दै जीवनको प्रत्येक पक्षमा सन्तुलन कायम राख्नमा सहयोग पुर्याउँछ, जसले दीर्घकालीन स्वास्थ्य र तन्दुरुस्तीमा योगदान पुर्याउँछ ।
आयुर्वेदमा गैर–संक्रामक रोगहरूको उपचारमा शारीरिक तथा मानसिक स्वास्थ्यको सन्तुलनमा विशेष ध्यान दिन्छ । आयुर्वेदमा उपचारात्मक विभिन्न प्रक्रिया हरु जस्तै पञ्चकर्म प्रक्रिया—(वमन, विरेचन, बस्ती, नस्य , रक्तमोक्षण प्रक्रिया हरू द्वारा—शरीरको विषाक्त पदार्थलाई हटाएर पाचन सुधार्ने र शरीरको सन्तुलन कायम राख्न मद्दत पुर्याउँछ ।

आयुर्वेदमा निदान परिवर्जन (रोगका कारणहरूको त्याग स्वास्थ्यको रोकथाम र उपचारको महत्वपूर्ण प्रक्रिया हो, जसले रोगको मुख्य कारणलाई पहिचान गरेर ती कारणहरूलाई हटाउँछ । यसले शरीरको स्वाभाविक सन्तुलनलाई पुनस्र्थापित गर्न मद्दत पुर्याउँछ ।वप्रमेह , स्थौल्य तथा अन्य गैर संक्रामक रोगहरूको मुख्य कारण आहितकर भोजन , ,निष्क्रिय जीवनशैली, मानसिक तनाव र शारीरिक असन्तुलन हो । आयुर्वदमा, यी रोगहरूको रोकथाम र उपचारका लागि योग अभ्यासहरूले महत्वपूर्र्ण भूमिका खेल्दछन् ।
प्रमेह (मधुमेह) र स्थौल्य(अधिक तौल) जस्ता गैर–संक्रामक रोगहरूको उपचारमा, निदान परिवर्जनको महत्वपूर्ण अंश भनेको स्वस्थ आहार, जीवनशैलीमा सुधार र शारीरिक गतिविधि हो । यस्तै आयुर्वेदमा यी रोगहरूको रोकथाम तथा उपचारको लागि योग अभ्यासहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन् । योग अभ्यासबाट शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण सुधार ल्याउन सकिन्छ । प्रमेहको उपचारमा, सूर्य नमस्कार, भुजंगासन र आधोमुखआसनले पाचन प्रणालीमा सुधार ल्याउने, रक्तचाप र चिनीको स्तर सन्तुलित राख्न मद्दत गर्दछ । अनुलोम–विलोम र कपालभाती प्राणायामले श्वासप्रश्वास प्रणालीलाई सुदृढ गर्दै मानसिक तनाव घटाउँछ । तस्तै स्थौल्यको उपचारमा, सूर्य नमस्कार, त्रिकोणासन र वृक्षासन जस्ता मांसपेशी सक्रिय बनाउँदै चयापचय सुधार्छ र तौल घटाउन मद्दत गर्छ । मानसिक स्वास्थ्यमा योग र ध्यानले तनाव, चिन्ता र अवसादलाई कम गरेर शारीरिक स्वास्थ्यमा सुधार ल्याउँछ।
हृदय रोगमा, यसले रक्त चाप घटाउँछ, रगतको प्रवाह सुधार्छ, र वजन नियन्त्रणमा मद्दत पुर्याउँछ । क्यान्सरका बिरामीहरूलाई तनाव कम गर्न र जीवनको गुणस्तर सुधार्न सहयोग पुर्याउँछ । स्ट्रोकपछि रिकभरीमा, यसले लचकता, समन्वय, र मांसपेशीको शक्ति सुधार्छ । चिरस्थायी श्वासप्रश्वास रोगहरूमा, प्राणायामले श्वासप्रश्वास क्षमता बढाउन र फोक्सोको कार्यप्रणाली सुधार्न मद्दत पुर्याउँछ । यसरी, योगभि शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले यी रोगहरूबाट बच्नको लागि आयुर्वेद, योग, ध्यान तथा प्राकृतिक उपचारलगायत विभिन्न वैकल्पिक उपचारहरूद्वारा यी रोगहरूको व्यवस्थापन र उपचार गर्न सकिन्छ ।
नेपालमा आयुर्वेदको सामना गर्ने प्रमुख चुनौतीहरूमा सार्वजनिक स्वास्थ्य प्रणालीसँगको प्रतिस्पर्धा, स्रोत र सुविधा अभाव, सामाजिक मान्यता र विश्वासको कमी, र आयुर्वेदको शिक्षा र प्रशिक्षणको अभाव छन् आयुर्वेदका जडिबुटी र औषधिहरूको गुणस्तरीय आपूर्ति र प्रशिक्षित चिकित्सकहरूको अभावले यसलाई व्यावसायिक रूपमा प्रभावकारी बनाउन कठिनाइ पुर्याउँछ । यी समस्याहरूको समाधानको रूपमा, आयुर्वेदको महत्व र यसको फाइदाबारे जनचेतना फैलाउन, आयुर्वेदलाई आधुनिक विज्ञान र प्रविधिसँग जोडेर यसको उपचार विधिहरूलाई प्रभावकारी र प्रासंगिक बनाउन, र आयुर्वेदका चिकित्सकहरूको उच्च गुणस्तरीय प्रशिक्षणमा सुधार ल्याउन आवश्यक छ ।
साथै, विद्यालय शिक्षा र योगसँग सम्बन्धित आयुर्वेदको ज्ञान र जनचेतना वृद्धि गर्न गुणस्तरीय शिक्षा प्रणालीको स्थापना पनि महत्वपूर्ण छ । त्यसैगरी, गैर–संचारी रोग (NCDs) को नियन्त्रणमा आयुर्वेदको योगदानलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न अत्यन्त आवश्यक छ । आयुर्वेदले जीवनशैली र आहारसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ, जसले NCDs को रोकथाम र उपचारमा मद्दत पुर्याउँछ । यसलाई प्रभावकारी बनाउनका लागि, सरकारले आयुर्वेदलाई स्वास्थ्य नीतिमा समावेश गरेर यसको उपयोग र व्यावसायिक विकासलाई प्राथमिकता दिनु पर्छ। यसरी, आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य रणनीतिमा महत्वपूर्ण स्थान दिएर यसको प्रभावकारिता र पहुँचलाई थप सुदृढ बनाउन सकिन्छ। (लेखिका डा. शर्मा राजधानीको हिमालयन आयुर्वेद चिकित्सा विज्ञान कलेजमा र चाइना हस्पिटल बसुन्धरामा कार्यरत हुनुहुन्छ)