
नुवाकोट । नुवाकोट जिल्लाको पूरानो सामूदायिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पसमा विद्यार्थी संगठनहरुको विवादका कारण स्ववियु निर्वाचन स्थगित भएको हो । साथै क्याम्पस प्रशासनले चैत ६ गतेसम्मका लागि क्याम्पस बन्द भएको सूचना सार्वजनिक गरेको छ ।
क्याम्पस प्रशासनले जारी गरेको सूचनाअनुसार, स्ववियु निर्वाचनका लागि गठित निर्वाचन समितिका संयोजक पूर्णबहादुर सडौलाले फागुन २५ गते राजीनामा दिएका थिए। त्यसपछि, क्याम्पस प्रशासन, प्राध्यापकहरू तथा विद्यार्थी संगठनहरूको बैठक बसेर निर्वाचन प्रक्रियालाई सहज बनाउने प्रयास गरिए पनि निर्वाचन समिति पुनः गठन हुन सकेन।
यसै कारण, निर्वाचन समितिको अभावमा आगामी निर्वाचन प्रक्रिया हाललाई स्थगित गरिएको क्याम्पस प्रशासनले जनाएको छ। साथै, निर्वाचन विषयलाई लिएर क्याम्पसमा असहज परिस्थिति उत्पन्न हुन नदिन क्याम्पसको संशोधित विधान २०७७ को दफा १३ उपदफा १७ बमोजिम चैत ६ गतेसम्म क्याम्पस बन्द गरिएको छ।
क्याम्पस प्रमुख नारायण मान डंगोलले विविध पक्षलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै क्याम्पसमा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।