
बिदुर । विदुर नगरपालिका ५ देवीघाटबाट बाँडाचौतारो हुँदै वडा नम्बर ६ को केन्द्रीय कारागारसम्म जाने अस्फाल्ट कालोपत्रे मोटरबाटोको शिलान्यास गरिएको छ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले आज एक कार्यक्रमकाबीच १२ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडक योजनाको शिलान्यास गर्नुभएको हो। सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत सञ्चालन गरिने यस योजनामा नाली सहित सडकका अन्य आधारभूत संरचनाहरू समेत निर्माण गरिनेछ।
नगरप्रमुख श्रेष्ठले तोकिएको समयसीमाभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ।शिलान्यास कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
विदुर नगरपालिकामा सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत सञ्चालित ८ वटा योजनामध्ये केही सञ्चालनमा आइसकेका छन् भने बाँकी योजनाहरू छिट्टै कार्यान्वयन चरणमा लैजाने तयारी गरिएको छ।