विदुर, नुवाकोट । विदुर नगरपालिकाले महालेखा परीक्षकको प्रतिवेदन सम्बन्धी विषयमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा प्रकाशित समाचारले जनमानसमा भ्रम सिर्जना गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणका क्रममा प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि असुल गर्नुपर्ने तथा प्रमाण पेश गर्नुपर्ने रकम रु. ५ करोड ३० लाख ३६ हजार ६५८ रुपैयाँ २५ पैसा बेरुजुका रूपमा समावेश गरिएको थियो। तीमध्ये आवश्यक प्रमाण तथा कागजात पेश गर्दै बेरुजु फर्छ्योटको प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।
विज्ञप्तिमा नुवाकोटका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु सम्परीक्षण गर्ने स्थानीय तह विदुर नगरपालिका रहेको दाबी गरिएको छ। नगरपालिकाले सामाजिक सुरक्षा भत्ता तथा स्थानीय सञ्चित कोषको भुक्तानी प्रणाली फरक–फरक रहेकाले वित्तीय विवरणमा देखिने अन्तर स्वाभाविक रहेको स्पष्ट पारेको छ।
नगरपालिकाका अनुसार विगत वर्षहरूको करिब २१ करोड रुपैयाँ बेरुजुमध्ये ठूलो हिस्सा सम्परीक्षण भइसकेको छ। हाल कायम रहेको कुल बेरुजु रकम करिब रु. १९ लाख ५२ हजार ५५ मात्र रहेको उल्लेख गरिएको छ। साथै, गत आर्थिक वर्षसम्म असुल गर्नुपर्ने बेरुजुमध्ये करिब रु. ३३ लाख रुपैयाँ असुल भई सम्परीक्षण भएको नगरपालिकाले जनाएको छ।
विज्ञप्तिमा आय–व्यय विवरण, बैंक मौज्दात र लेखा अभिलेखबीच ठूलो अन्तर रहेको भन्ने समाचार तथ्यहीन रहेको दाबी गरिएको छ। विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी सम्भव नभएका केही अवस्थामा चेकमार्फत भुक्तानी गरिएकाले कार्यालयको अभिलेख र बैंक मौज्दातबीच सामान्य अन्तर देखिनु स्वाभाविक भएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले पर्याप्त जानकारी र तथ्य नबुझी एकपक्षीय रूपमा समाचार प्रकाशन गर्दा जनमानसमा भ्रम फैलिएको उल्लेख गर्दै यस्ता गतिविधिप्रति खेद व्यक्त गरेको छ। साथै, समाचार प्रकाशन गर्दा सम्बन्धित निकायको आधिकारिक धारणा समेत समेट्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
नगरपालिकाका प्रवक्ता रविन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न अनुरोध गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्