
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।
सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसअघि उनीहरु राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । उनीहरुले सिंहरदरबारभित्रैबाट नाराबाजी गर्दै अघि बढेका थिए । प्रहरीले निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै गिरफ्तार गरेको जनाएको छ । तर राप्रपाका कार्यकर्ताहरु भने बानेश्वर क्षेत्रमा प्रदर्शनमा रहेका छन् ।
लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए । प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ । यसअघि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूसहितलाई सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा नै प्रहरीले बन्दी बनाएको बताएका थिए ।
तर, केहीबेरमा राप्रपा सांसदहरूले सिंहदरवारमै प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्लेकार्ड खोसेर उनीहरूलाई प्रहरीले छोडिदिएको छ । उनीहरू मिडियासँग कुरा गर्दै दक्षिण गेटबाट बाहिरिएका छन् । बाहिरिएपछि उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारबाजी गरेका थिए । नाराबाजी गरेपछि सिंहदरबार बाहिर उनीहरू पक्राउ परेका हुन् ।
गिरफ्तारिकै क्रममा शाहीले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट रहेको आरोप लगाउँदै दिनगन्ति सुरु भएको बताए ।