
ललितपुर, १० बैशाख, नेपाली कांग्रेसका पूर्वउपसभापति एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ भन्नुभएको छ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित राष्ट्र निर्माणमा यूवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान बिषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा मन्तव्य राख्नुहुँदै उपसभापति निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकरात्मक धारणा विकास गराउन संगठित सैद्धान्तिक, राजनीति र बैचारिक बहसलाई जोड दिनुपर्छ भन्नेमा जोड दिनुभएको हो। “संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा केही परिवर्तन हुन्छ, लोकतान्त्रिक पद्धतिको सफल प्रयोग जनताका पक्षमा गर्नु जरुरी छ।” उहाँले भन्नुभयो ।
उहाँले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने भ्रमपूर्ण प्रचारलाई चिर्दै थप समृद्धि हासिल गर्न लाग्नुपर्ने अवस्था छ भन्नेमा नेता तथा कार्यकर्ताको ध्यानाकर्षण गराउनुभयो। “सहभागितमुलक नीति निर्माण र समावेशी शासन व्यवस्थाका लागि कांग्रेसले धेरै काम गरेको छ, पहिलेभन्दा धेरै परिवर्तन भएको छ, लोकतन्त्रमा दल, नेता र नेतृत्वलाई खवरदारी गर्न अधिकार जनतामा छ ।” उहाँले भन्नुभयो । पूर्वउपप्रधानमन्त्री निधिले पटकपटक र जतिपटक राजालाई जनताले साथ दिए तर राजाले जनतालाई साथ सहयोग र जनताका लागि काम गरेनन् भन्ने बताउनुभयो । “राजतन्त्रले नेपाली जनताका लागि कहिल्यै पनि काम गरेन, बिरेन्द्रको बंश नाशपछि ज्ञानेन्द्रलाई राजा मान्ने पक्षमा जनता थिएनन्, राजाको रुपमा स्वीकार्ने पक्षमा जनता थिएनन्, नेपालको राजनीतिक प्रयोगशालामा राजा अफापसिद्धि भएको हो, अब राजतन्त्र आउँदैन, आउन पनि दिंदैनौं, गणतन्त्र कमजोर छैन, गणतन्त्रलाई पुस्तान्तरण गर्दै जान्छौं ।” उहाँले भन्नुभयो ।
उहाँले वर्तमान समयमा बिषय एजेन्डामा केन्द्रीत रहेर गरिने बहसको अभाव हुँदै गएको छ भन्दै चिन्ता व्यक्त गर्नुभयो । “राष्ट्रको निर्माण, राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको छ, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको विकास राज्यको व्यवस्थित आम्दानी र खर्च प्रणाली, लोकतान्त्रिक राज्य प्रणालीको विकासमा नेपाली कांग्रेसले अतुलनीय योगदान गरेको छ, २००७ पछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अभ्यास सुरुवात भयो, त्यसअघि राणाहरुको हुकुमी शासनका आधारमा हुन्थ्यो, गहिरिएर अध्ययन गर्ने हो भने आधुनिक राज्यको निर्माण र राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले धेरू काम गरेको छ।” उहाँले भन्नुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीको इतिहास बुझाएर वर्तमान र भविष्यप्रति जिम्मेवार बनाउँदै युवाहरुलाई पार्टीमा सक्रिय बनाउन बैचारिक अभियान चलाउनुपर्ने बताउनु। “सामाजिक सञ्जाल आएका धारणाको आधारमा मात्रै पार्टीको धारणा बनाउनु पनि उचित हुँदैन, विगतको दु:खलाई मुल्यांकन गर्दै वर्तमानको परिस्थितिलाई मुल्यांकन गर्दै सुधार गरेर सुन्दर भविष्य निर्माणमा पार्टी क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी आधारमा संसदीय व्यवस्थाबाट नै यो सम्भव हुन्छ” उहाँले भन्नुभयो ।
सूचना, सञ्चार तथा प्रसार विभागका प्रमुख एवम् पार्टीको केन्द्रीय सदस्य मीन बिश्वकर्माले जनजन र मनमनमा विकसित हुँदै गएको नकारात्मक धारणालाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । “देशव्यापी रुपमा पार्टीको बारेमा विकसित भएको नकारात्मक धारणा र गलत बुझाईलाई चिर्न आवश्यक छ, २००७ पछि नेपालको राष्ट्र निर्माणमा काँग्रेसका युवाहरुले दिएको योगदानका बिषयमा अहिलेको युवाहरूलाई सचेत गराउनु आवश्यक छ, नेपाली काँग्रेससंग कायम रहेको गौरवशाली विगत, जिम्मेवारीपूर्ण वर्तमान र समृद्ध भविष्यको सम्पूर्ण जनजनमा सत्यतथ्य इतिहास बुझाउन अनिवार्य भएको छ।” उहाँले भन्नुभयो। पार्टीको जिल्ला समन्वय तथा सम्पर्क विभागका प्रमुख एवम् केन्द्रीय सदस्य नानु बाँस्कोटाले भ्रमपूर्ण र मिथ्याको राजनीतिलाई अन्त्य गर्ने नेपाली कांग्रेसले निरन्तर बहस र छलफललाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आरोपप्रत्यारोपबाट मुक्त भएर तथ्य र तथ्यांकलाई जनतासामु पुर्याएर वर्तमान व्यवस्थाका सकरात्मक पक्ष र सत्यतथ्य उजागर गर्न लाग्नुपर्नेमा जोड दिनुभयो। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको स्थापनाकालमा नै युवाहरूले नेतृत्व गरेकोले अब पनि जनतालाई आशा र भरोसा दिलाउने गरि पार्टीमा युवाहरूको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले आमनागरिकको आवश्यकताको परिपूर्ति र अपेक्षा अनुरुपको विकास, आर्थिक समृद्धिका लागि कांग्रेसले सकरात्मक कर्म गर्न प्रेरित गर्ने गतिविधिहरु अगाडी बढाउनुपर्ने बताउनुभयो। जातधर्म र कुनै बंशबादको नाममा भन्दा मानवता र आर्थिक समृद्धिको नाममा राजनीति गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टीबाट टिकट पाएर निर्वाचन जितेका सांसदहरुले नै नेपाली कांग्रेसको नीति विरुद्ध अभिव्यक्ति दिंदै हिडेका भन्दै नेपाली कांग्रेसको अनुशासन समिति सक्रिय भएर यसतर्फ सचेत गराउने काम गर्नुपर्नेमा जोड दिनुभयो । तथ्यमा आधारित राजनीति यात्रा बिषयमा प्रस्तुतिकरण गर्नुहुँदै अग्रज पत्रकार हरिबहादुर थापाले १०४ वर्षे राणा शासन, २९ बर्ष तीन महिने पञ्चायती शासन र १४ महिने ज्ञानेन्द्रकालीन शासनले नै आन नागरिकलाई आजित बनाएर उदारवादी गणतन्त्रको आवश्यक भएको बताउनुभयो।
सो अवसरमा डाक्टर जगत नेपालले प्रस्तुतिकरण गर्नुहुँदै नेपाली कांग्रेसको आन्दोलनको इतिहास, प्रचारप्रसारमा मिडियाको महत्त्व र भूमिका, नेतृत्वमा रहेर वीपी कोइरालाले खेल्नुभएको सकरात्मक भूमिका, वीपी, गणेशमान र सुवर्ण शम्शेरले पुर्याउनु भएको योगदानका बिषयमा चर्चा गर्नुभएको थियो। विभागका सदस्य एवम् बरिष्ठ अधिवक्ता गणेश के.सी.ले देशमा विकसित हुँदै गएको नकारात्मक धारणा र सोचलाई चिर्नुपर्ने धारणा राख्नुभयो।—