
रुकुमपश्मि, वैशाख ११ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङ बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।
बिहीबार एक कार्यक्रमका बिच पूर्व अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले काउन्टर कार्यालयको उद्घाटन गर्नुभएको हो । काउन्टर स्थापना कार्यक्रममा बोल्नुहुँदै शर्माले लामो समयको प्रयासपछि स्थानीयवासी र व्यवसायीहरुको मागको सम्बोधन भएको बताउनुभयो । उहाँले बैंकिङ्ग सेवाको पहुँच हरेक सर्वसाधारण पु¥याएर सहज सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
यस अघि नीजि बैंकलाई अनुरोध गरेर शाखा खोल्ने प्रयास भएता पनि विफल भएको तर वाणिज्य बैंकले जनताको माग सुनुवाइ गरेको उहाँको भनाइ छ । काउन्टर कार्यालयबाट हुने कारोबारको आधारमा शाखा कार्यालय बनाउन पहल हुने उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रिय वाणिज्य बैंक रुकुम शाखाका प्रबन्धक हेमन्त न्यौपानेका अनुसार उक्त काउन्टर कार्यालयबाट ऋण लगानी बाहेकका अन्य सम्पूर्ण सेवा प्रवाह हुनेछन् । कर्मचारी व्यवस्थापन भइसकेकोले सिस्टम जडान गरेर केहि दिनमै सेवा सूचारु हुने उहाँले जनाउनुुभयो । उहाँले खाता खोल्ने, रकम निकाल्ने, जम्मा गर्नेदेखि चेक क्लियरिङ, पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजस्व, इबैंकिङ्ग, सरकारी कारोबार लगायतका सेवा यस काउन्टरबाट हुने जानकारी दिनुभयो । ऋण लगानीको फाइल उठाएर नजिकै रहेको मुसीकोट शाखा कार्यालयबाट गर्न सकिने समेत बताइएको छ ।
देशभरी २९४ शाखा कार्यालय रहेको यस बैंकका ७४ एक्सटेन्सन (सोलाबाङसहित), ३१४ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् । यस बैंकले सात प्रदेशका ७७ जिल्लामा सेवा प्रवाह गरिरहेको जनाएको छ । यसअघि रुकुमपश्चिमको मुसीकोट र चौरजहारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना भएर सेवा प्रवाह भइरहेको छ ।
तस्बिर तथा समाचार ः गोरखापत्र अनलाइनबाट