Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सेक्के तामाङ र उनको विद्रोह

नुवाकोट पुकार १७ बैशाख २०८२, बुधबार ०८:१३

श्रीराम श्रेष्ठ

खनियाबासको सामाजिक विद्रोह नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणले अत्यन्त महत्व राख्ने ऐतिहासिक घटनाक्रम हो । यो घटना वास्तवमा नेपालको प्रजातान्त्रिक शासनप्रणालीलाई छोटो समयमै अलोकप्रिय बनाउने घटना पनि हो । यो र यस्तै प्रकारका अन्य विद्रोहले भर्खरै प्राप्त भएको प्रजातन्त्र फुल्न र फल्न पाएन खनियाबास विद्रोहका सम्बन्धमा विभिन्न इतिहासकार र सामाजिक, सांस्कृतिक अध्येताहरूले आआफ्नै दृष्टिकोणबाट विभिन्न पुस्तक प्रकाशन गरेका छन् । र, यस घटनाका सम्बन्धमा विभिन्न पत्रपत्रिकाले समेत बेला मौकामा समेट्ने गरेका छन् ।


यस सम्बन्धमा खनियाबास गाउँपालिका वडा नम्बर ३, धादिङका पत्रकारिता, अनुसन्धान र साहित्य सिर्जनालगायत कार्यमा संलग्न गोपाल फ्युबा तामाङले २०७४ सालमा ’क्रान्तिकारी सेक्के तामाङ, खनियाबास विद्रोहको अगुवा’ शीर्षकमा ३० पृष्ठको एक पुस्तक प्रकाशन गर्नुभएको छ । यस पुस्तकको प्रकाशकीय सत्यवती धादिङका सुकबहादुर तामाङले लेख्नुभएको छ ।
प्रकाशकीयको तेस्रो अनुच्छेदमा उहाँ लेख्नुहुन्छ, “सेक्के आन्दोलनका अगुवा हुन् । उनी जेल पनि परे । कष्ट भोगे । तामाङका मुक्तिका राजा हुन् । राजनीतिक नेतृत्वमा फल खान पुगेका दामनले समेत गुरु मान्ने सेक्के हुन्, वास्तविक नाम जे रहे पनि सेक्के लहप्सङ्कर्पो क्षेत्रका राम हुन् ।”

सेक्के तामाड.
गोपाल फ्युबा तामाङले यस पुस्तकको लेखकीयमै केही महत्वपूर्ण विषय उजागर गर्नुभएको छ – पश्चिम १ नम्बरअन्तर्गत खनियाबास विद्रोहका योजनाकार रामबहादुर तामाङ सेक्केबारे लेख्ने जमर्को गरेको छु ।
उनी मैले मुक्तिका राजा ठान्ने दामन पाख्रिनका पनि गुरु हुन् । यस कुरालाई दामन पाख्रिनले आफ्ना भाषणहरूमा धेरै पटक उल्लेख गर्नुभएको छ । तीमध्ये एकमा भनिएको छ– सेक्के मेरो गुरु २०१२ सालमा साहुहरूले हिर्काएर थला परेका यिनका मासु चिरा चिरा पारेका, रिजाल बाजेहरूले उल्टा – उल्टा गर्ने, तामाङ बाजेहरू हुन्छ, हुन्छ भन्ने…….।


एक अर्को अनुच्छेदमा गोपाल फ्युबा तामाङ लेख्नुहुन्छ – पश्चिम १ मा खस–आर्यले राज्यशक्तिको आडमा सोझा गैरतागाधारी तामाङहरूलाई सामाजिक र आर्थिक रूपमा दास बनाएका थिए । हरेक काम अन्य जातिबाट गराउने मेजर पदवीप्राप्त रिजालहरूको शोषण र उत्पीडनबाट मुक्ति पाउन गरिएको खनियाबास विद्रोहको योजनाकार तथा योद्धा सेक्के तामाङ… ।
लेखक गोपाल फ्युबा तामाङ पुस्तकको पेज नम्बर ३ को ’प्राप्ति’ शीर्षकमा लेख्छन्, “तामाङहरूलाई राज्यले विभेद गरेकै थियो । जब तामाङ गणराज्यहरू खोसियो, तबदेखि नियन्त्रणमा राखे । पिपा, गोस्वारा, गोते र भरियाका रूपमा काममा लगाए । त्यस क्रममा असङ्गठित असफल विद्रोहहरू भए । शाह, राणाको नीतिगत र योजनाबद्ध पेलाइबाट पिछडिएका सामान्य गरिबमाथि स्थानीय सामन्तहरूले झन् पेले । सोही क्रममा खस–आर्य जातिलाई विभिन्न पदवीसँगै बि
र्ता दिए ।”


तामाङहरू बाह्य संसारभन्दा आफ्नै संसारमा रमाउने भएकाले फिरन्ती बाहुनहरू अर्थात् एक ठाउँबाट अर्को ठाउँ हुँदै आएका बाहुनहरूको फन्दामा सजिलै परे । नक्कली तमसुक र ब्याज– स्याजको पासोमा परे । यस्तो भुमरीमा परेको बिस्तारै थाहा हुँदै जाँदा विद्रोहको ज्वाला दन्कियो ।


“त्यस क्षेत्रमा रिजाल, आचार्य र प्याकुरेलहरूको आगमनपूर्व घले राजाको राज्य भएको इतिहास गोमबोङ जोङ (दरबार) ङचेट जोङबाट प्रस्ट हुन्छ । यस्ता राज्यहरूको अस्तित्वलाई पृथ्वीनारायण शाहले मेटाएपछि पनि तामाङहरूको समाज सञ्चालन प्रक्रिया आफ्नै परम्परागत शैलीको थियो । तर पछि प्युठान हुँदै नुवाकोट तुप्चेबाट खनियाबास आएका रिजालहरूको जालमा फसेपछि उक्त जालबाट मुक्त हुन खनियाबास क्रान्तिको जन्म भयो । जसलाई कम्युनिस्टहरू पश्चिम एक नम्बरको कृषि क्रान्ति भन्न रुचाउँछन् भने नेपाली काङ्ग्रेसहरू खनियाबास आन्दोलन भन्छन् र स्थानीय जनजीवनमा १७ सालको आन्दोलन भन्ने गरेको पाइन्छ ।”


गोपाल फ्युबा तामाङले आफ्नो पुस्तकको पेज नम्बर ७ मा ’क्रान्तिको राजनीतिक पक्ष शीर्षकमा प्रस्तुत गरेको घटना विवरण संवेदनाले भरिएको छ । दामन पाख्रिन र सेक्के तामाङलाई सरकारले पक्राउ गयो र थुनामा पठायो । काजीमान र छेजु यिनीहरूलाई जेलबाट छुटाउन बिपी कोइरालालाई भेट्न पुगे । यसपछि काङ्ग्रेस बनेमा मुक्त गराउने आश्वासन पाए । यसपछि यिनीहरू काङ्ग्रेस बने । बिपीले मन्त्री देवानसिंह राईलाई शान्ति सम्झौता गर्न पठाए । यो सम्झौतामा क्षतिपूर्तिको कुरा उठ्यो । यसमा रिजालहरूलाई । चितवनमा जग्गा उपलब्ध गराउने सहमति भयो ।


सेक्के, दामनलाई जेलबाट मुक्त गरियो । तर २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदमपछि सेक्के, दामन, काजीमानलगायत पुनः पक्राउ परे । यिनीहरूलाई ५५ लाखको बिगो भराउने मुद्दा लगाइयो । उनीहरूलाई पक्राउ गरेर लैजाँदा छुटाउन भनी झन्डै दुई सय जना महिला–पुरुषको समूह पनि साथसाथै गएको थियो ।
शैलजा आचार्यको नेतृत्वमा यिनीहरूले काठमाडौँमा नाराजुलुस गरे । पञ्चायतविरुद्ध पनि नारा लाग्न थाल्यो । यसपछि त्यहीँबाट छेजु, रूपसी, युजुमलगायतलाई पक्राउ गरियो र तीन महिना जेल जीवन बिताए । अरू कतिपयलाई अझै लामो समय जेलमा राखियो । यसमध्ये लालमाया १८ महिना थुनामा परिन् । यसरी यो विद्रोह सशक्त भएको पाइन्छ ।


मन्त्री देवानसिंह राईसँग शान्ति सम्झौता भए पनि यो सम्झौतालाई अस्वीकार गर्नेहरू पनि उत्तिकै सशक्त थिए । छेजु र तुलबहादुरले मार्पाकतिर लुटपिट सुरु गरे । उनीहरूलाई सरकारले पक्राउ गयो र हत्या गरिएको भन्ने छ । वास्तवमा यो विद्रोह वा आन्दोलनका क्रममा कति व्यक्ति मारिए, कति व्यक्ति जेलमा थुनिए, यकिन विवरण पाउन सजिलो नभए पनि यस घटनामा धेरै व्यक्तिको हताहती भएको भन्न सकिन्छ ।
सेक्के तामाङ काम गर्न बाँधा बसेको घरमा हराएको रु. ३०० यिनैले चोरेको भनेर परिवारले आरोप लगाएपछि यिनी निकै कुटिए – पिटिए । जिउ थिलथिलो भयो । हिँड्न नसक्ने, बोल्न नसक्ने भए तैपनि चोरको आरोप अस्वीकार गरेर तरबारले काट्न तयार हुँदा बाध्यताले चोरेको स्वीकार गरेको र यसबाट बाँच्न सफल भएपछि आफू चोर नभएको बताएको कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
साथै पछि भैंसी पाल्ने भनेर साहुबाट लिएको भैंसी गोमबोङको चौतारोमा बाँधेर, काटेर अरूलाई मासु लिन बोलाए । कति आए, कति आएनन् । कोही घरमै पनि मासु लिन आए । यसपछि उनले तुलसीप्रसादलाई पिटेको अर्थात् सेक्के एकप्रकारले सशक्त विद्रोही बनेको प्रसङ्ग छ ।
।
सेक्के तामाङले सात वर्ष जेलमा बिताए । बुढेसकालमा धादिङको साकोस भन्ने स्थानमा बसे र त्यतै ७७ वर्षको उमेर (१९९० भदौ– २०५७ साउन) मा उनको निधन भयो । यसरी सेक्के तामाङलगायतका अन्य तामाङ समुदायले आफूलाई शोषण र अन्याय–अत्याचारबाट मुक्तिका लागि आफ्नै प्रकारको विद्रोह गरे । विद्रोह वैधानिक कानुन र राज्यको नियममा आधारित हुँदैन ।
यसको आफ्नै प्रकारको स्वरूप र विशेषता हुन्छ । विश्वका विभिन्न राजनीतिक परिवर्तनका इतिहास सुखद छैनन् र हुँदैनन् पनि । संसारमा यसै गरी आउँदा आउँदै मानिस आज जात, भाषा, धर्म, वर्ण, भेग र क्षेत्रभन्दा माथि उठेर मानिस बन्ने प्रयत्नमा छ ।
मानिस बन्न सम्पूर्ण सङ्कीर्णताबाट माथि उठ्नुपर्छ । यसपछि मात्र परिवार, समाज, देश र विश्वमा मानवताको उदय, विकास र विस्तार हुन्छ ।
विद्रोहका विभिन्न रूप हुन्छन्, यसको सार पनि विभिन्न नै हुन्छ । पारिवारिक विद्रोह परिवारभित्रै सीमित रहन सक्छ । सामाजिक विद्रोहले विविध प्रकारका असर छाड्छ । खनियाबास विद्रोह एउटा यस्तो सामाजिक विद्रोह हो, जसले राजनीतिक महत्वसमेत राख्न सक्यो ।
तत्कालीन समयको समाजको एउटा चित्रण यसै पुस्तकको विभिन्न सन्दर्भमा जोडिएकै छ । तर अब यसको तत्कालीन, मध्यकालीन र वर्तमानकालीन प्रभावबारे मानिसहरू धेरै कुरा सोच्ने गर्छन् । जस्तो, फलानोले हिजो हामीलाई यस्तो गर्ने गरेको थियो । यो सोच लामो समयसम्म कायम रहन्छ । यो पीडा भोग्ने पुस्ताले पूरै घटना सम्झिरहन्छ भने यसपछिको पुस्ताले अघिल्लो पुस्ताबाट सुन्दै जान्छ । यसरी थोरै–थोरै गरेर क्रमशः अरू पुस्ताले बिसँदै जान्छन् । तर २००७ सालअघिको समाज र त्यसपछिको समाजका आआफ्नै कथा–व्यथा र इतिहास छन् ।


२००७ सालअघि धेरै पीडा थियो भने यसपछि त्यो पीडाबाट मुक्तिका लागि विभिन्न प्रकारका सङ्घर्ष भए । त्यो समय नै त्यस्तो, विश्वव्यापी नै तनाव र विद्रोह थियो । यसबारे यसै पुस्तकमा विभन्नि सन्दर्भमा सङ्क्षिप्तमा उल्लेख गरिएको छ । अर्थात् सामाजिक परिवर्तन आफैँमा सहज भएको इतिहास नै छैन ।


खनियाबास विद्रोह त्यो सामाजिक परिवर्तनको एउटा प्रमुख प्रतिनिधि घटना हो । यो घटनाका कारण त्यति बेलाको न्याय न्याय र समानताविरुद्धको समाजमा परिवर्तन आयो । यसपछि एउटा पुस्ताले दुःख पाए पनि अरू पुस्ताले न्याय र स्वतन्त्रता पाए ।
त्यसैले सेक्के तामाङ, दामन पाख्रिनलगायतका अन्य कैयौँ व्यक्तिले त्यति बेला गरेको विद्रोह सदैव सम्झनायोग्य भएर रहन गएको छ । यसपछि त्यो समाजमा बस्ने सबैले न्याय पाएका छन् । स्वतन्त्रताको अनुभूति गरेका छन् ।


यस्तै पृष्ठभूमिका आधारबाटै नेपाल वर्तमान लोकतान्त्रिक युगमा प्रवेश गरेको छ । यो समयबाट हेर्दा समाजमा सबै जात, भाषा, धर्म, वर्ण एकआपसमा मिलेर र सुख – दुःखमा सहकार्य गरेर बसेका छन् । मानिसको जीवनको सार यसैमा छ । अर्थात् खनियाबास विद्रोहले समाजलाई सिकायो, पढायो र शिक्षित र सभ्य रूपमा आजको समानता र न्यायको समयसम्म ल्यायो ।(लेखक ः नेपाली कांग्रेस नुवाकोटका सचिव हुनुहुन्छ)

Continue Reading

Previous: सरकार–शिक्षक वार्ता सहमतिनजिक, आज निर्णय
Next: वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार