
२० वैशाख, नुवाकोट । नुवाकोट जिल्लामा सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि चुम्न एपीएफ फुटबल क्लब सफल भएको छ ।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजनामा आज शनिवार भएको फाईनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई अतिरिक्त सात मिनेट थप गरिएको समयमा १(० गोलको अन्तरले पराजित गरेको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको दुई विभागीय टिमको खेलमा एपिएफकी जर्सी नम्बर १५ की अनिता केसीले अतिरिक्त थप गरिएको ८६औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जीत दिलाएकी हुन् ।

खेलमा अनितानै ‘प्लेयर अफ दी म्याच’ र प्रतियोगिताकै सर्वाधिक गोलकर्ता समेत बनिन् । उनले प्रतियोगितामा तीन गोल गरेकी थिईन् । उनले सुजिम बजारबाट नगद पाँच हजार पुरस्कारसहित उपहार प्राप्त गरिन् । प्रतियोगिताका विजेता एपीएफले पाँचलाख रुपैयाँ र उपविजेता नेपाल पुलिसले दुईलाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा एपीएफकी रेनुका नगरकोटीले उत्कृष्ट खेलाडी र अञ्जना रानामगरले उत्कृष्ट गोलरक्षक, जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए ।नेपाल पुलिस क्लबकी मीना देउवाले उदीयमान खेलाडीको रुपमा घोषित भईन् ।

प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले शिल्ड, तक्मा र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

नुवाकोट जिल्ला फुटबल सङ्घको सहआयोजना, बागमती प्रदेश खेलकुद विकास परिषद् मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहेका थिए ।प्रतियोगितामा तीन वटा विभागीयसहित आठ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता वैशाख १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा.म हतले खेलाडीहरुलाई बधाई दिँदै थप सफलताको कामना गर्नुभयो । उहाँले नुवाकोट जिल्लामा यति उत्कृष्ट रुपमा खेल प्रतियोगिता सफल भएकोमा आयोजकहरुलाई धन्यवाद दिँदै नुवाकोट जिल्ला खेलकुदको विकासमा धेरै अधि बढेको उल्लेख गर्नुभयो ।