
२० वैशाख, काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडकमा वैशाख २२ गतेदेखि १० दिनसम्म आंशिकरुपमा बन्द गरिने भएको छ ।
सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । कार्यालयले एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधान भने यथावत रुपमा सञ्चालन हुने जनाएको छ ।
आयोजना आज सुचना जारी गर्दै जनाए अनुसार काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ । यस्तै नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।
साथै कार्यालयले सूचनामार्फत वैकल्पिक मार्गको व्यवस्था भएको जनाउँदै सोही अनुसार प्रयोग गर्नका लागि आग्रह पनि गरेको छ । कार्यालयका अनुसार साना तथा मझौला सवारी साधनका लागि मात्रै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । सो अनुसार सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली बेत्रावती–गल्छी सडकमार्ग रहेका छन् । अन्य रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।