
वैशाख ३१,काठमाडौं । नुवाकोट जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अर्जुननरसिंह केसीले पासाङल्हामु राजमार्ग अन्तर्रगत रानीपौवा पिपलटार सडकखण्ड निर्माणमा यो पटक पनि बजेट विनियोजन नभए बजेट पुस्तिका च्यात्ने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद केसीले यस्तो चेतावनी दिनुभएको हो।
सो क्षेत्रका सांसद केसीले उक्त राजमार्ग निर्माणका लागि संसदमा निरन्तर आवाज उठाउँदै आउनु भएको छ । तर पनि ०७१ सालमा सम्झौता भइ ०७३ सालमा नै बन्नुपर्ने राजमार्ग एक दशक बितिसक्दा पनि हालत उस्तै बनेको छ । गत वर्ष तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो निर्वाचन क्षेत्र अन्र्तरगत बालाजुदेखि रानीपौवा सडकका लागि ५० करोड बजेट विनियोजन गर्दा सोही सडक खण्डको रानीपौवा पिपलटार सडकमा भने बजेट परेको थिएन । सो समयमा सांसद केसीले कडा रुपमा कुरा उठाउनु भएको थियो । उक्त सडक निर्माणका लागि गम्भीर रुपमा लाग्नु भएका नेता आवाजको सुनुवाई नभएपछि आज कडा रुपमा प्रस्तुत हुनुभयो ।
पाका सांसद,कांग्रेसका प्रभावशाली नेता केसीले पटकपटक अति संवेदनशील विषयमा सो क्षेत्र प्राथमिकतामा पार्न कुरा उठाए पनि सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले बजेटका लागि जिल्लाबाट दबाब बढाउने मात्र नभइ आगामी वर्षको बजेटमा पासाङल्हामु राजमार्ग निर्माणको काम प्राथमिकतामा नपरे आफूले बजेट पुस्तिका समेत च्यात्न बाध्य हुने चेतावनी दिनुभयो ।
आगामी वर्षको बजेटको प्राथमिकता र शिद्धान्तमाथि छलफल जारी रहेका बेला बुधबारको बैठकमा नेता केसीले सरकारले एक्जिम बैंकले सहयोग नगरेको भन्दै आलटाल गरिरहेको आरोप लगाउँदै भन्नुभयो ः ‘ अनि एक्जिम बैंकले नदिएको कारणले पैसा भएन भन्ने सरकारका मान्छेहरुको जवाफबारे म सोध्न चाहन्छु, त्यो एक्जिम बैंकसँग मेरा क्षेत्रका जनताले कुरा गर्न जानुपर्ने कि ? मैले कुरा गर्नुपर्ने हो कि ? सरकारले कुरा गरेर टुंग्याउनुपर्ने हो ? ,’ साथै आफूले अर्थमन्त्रीसँग समेत पटकपटक व्यक्तिगत रुपमा नै भेटेर आग्रह गरेको स्मरण गराउँदै यसपालीको बजेटमा उक्त राजमार्गलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
यस्तो छ संसदमा केसीको सम्बोधनका केही अंश
म आफैँ अर्थमन्त्रीलाई यही रोष्ट्रमबाट आग्रह गर्न चाहन्छु कि, कुनै पनि नयाँ योजना दिन सक्नुहुन्न भने नदिनुस् । सम्भाव्यता अध्ययन र त्यसको पूर्णताको क्याल्कुरेशन नगरीकन बाँदरलाई मकै छरेको जसरी दिने कामले नै अहिलेसम्म स्थिति बिग्रिएको यथार्थता हो । डिटेल्स प्रोजेक्ट रिपोर्टको उपादेयतालाई हेरेर मात्रै त्यसमा बजेट राख्नुहोस् मैले त्यसमा नयाँ बजेट थप्नुस् भनिराखेको छैन । तर एउटा गम्भीर कुरा चाँही के छ भने यो बालाजु–रानीपौवा त्रिशुली सडक, यो काठमाडौंबाट नुवाकोट जोड्ने सबैभन्दा पूरानो सडक, यसले नुवाकोट–धादिङ र रसुवा तीन जिल्लालाई जोड्ने काम गर्छ । मर्मत सम्भार र पुनर्संरचनाको नाममा पुरानो बाटो सबै क्षतिग्रस्त गराइएको छ ।
०७१ मा सम्झौता भएर ०७३ मा पूर्णता दिने सम्झौता भयो । तर अति शक्तिशाली सम्पन्न ठेकेदारले काम गर्दै गरेन । त्यसलाई कसैले छुन सकेन । ०७३ बाट झण्डैझण्डै ७ पटकसम्म म्याद थपियो । तर अहिले ३ वर्षदेखि त्यसमा बजेट परेको छैन । अनि एक्जिम बैंकले नदिएको कारणले पैसा भएन भन्ने सरकारका मान्छेहरुको जवाफबारे म सोध्न चाहन्छु, त्यो एक्जिम बैंकसँग मेरा क्षेत्रका जनताले कुरा गर्न जानुपर्ने कि रु मैले कुरा गर्नुपर्ने हो कि रु सरकारले कुरा गरेर टुंग्याउनुपर्ने हो रु त्यो असरल्ल परेको त्यो बाटो छ, मेरो मर्यादा र संस्कारले दिँदैन । तर पनि यसपाली पनि त्यो बाटोबारे बजेटमा पैसा परेन भने बजेट भाषणपछि त्यो पुस्तिका च्यात्नुभन्दा मेरो अघि अर्को विकल्प छैन । किनभने पार्टीको गठबन्धन सरकारको अंग हुँदाहुँदै पनि त्यो भन्दा पनि मेरो जनताले दिएको मत हो, म त्यहाँका जनप्रतिनिधि हुँ । त्यसकारण त्यसको विकल्पको रुपमा त्यसलाई त्यातेर संसदमा नै धर्ना बस्नुपर्ने हो कि ? जिल्लाबाट प्रतिकार गर्न पनि म बाध्य छु । यो कुरा धेरैपटक अर्थमन्त्रीसँग व्यक्तिगत रुपमा पनि आग्रह गरेको छु यसलाई सम्बोधन गर्नुहोला ।