
काठमाडौँ, जेठ १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले टेरामक्स घोटालामा काँग्रेस नेता बस्नेत संलग्न भएको उल्लेख गर्दै बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रतिनिधिसभाका सांसदसमेत रहनुभएको बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।
अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ मा भएको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) को देहाय (झ) एवम् संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र जरिवाना गरी बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ ।
यस ऐन बमोजिम एक करोडभन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि सोही अनुसार जरिवाना गरी आठ वर्षदेखि दस वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।
टेरामक्स प्रकरणमा अख्तियारले मुद्दा दायर गरेका अन्यमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक बिजयकुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता भ्यानराइज सोलुसन साल र सोका मुख्य व्यक्ति सीइओ जमल अनउटी, भ्यानराइज सोलुसन सालका स्थानीय एजेन्ट भनिएका कनेक्सन ट्रेड लिंक प्रा.लि., काठमाडौं र सोका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल छन् ।