नुवाकोट, असार ५ — नुवाकोटस्थित श्री निरञ्जना माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा उत्साहजनक सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये १५ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।
विद्यालयको यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै प्रधानाध्यापक नगेन्द्र पनेरुले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगकै परिणामस्वरूप विद्यालयले उल्लेखनीय नतिजा हासिल गर्न सकेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूको लगनशील अध्ययन, शिक्षकहरूको अथक परिश्रम तथा अभिभावकहरूको विश्वास र सहयोगका कारण यो सफलता सम्भव भएको हो। आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने हाम्रो प्रतिबद्धता यथावत् रहनेछ।”
विद्यालयले सफलतापूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, यस सफलतामा योगदान पुर्याउने शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार प्रकट गरेको छ।
विद्यालय परिवारले यस उपलब्धिलाई सामूहिक प्रयास, अनुशासन, निरन्तर मेहनत र सकारात्मक शैक्षिक वातावरणको प्रतिफलका रूपमा लिएको जनाएको छ। विद्यालयको यो नतिजाले आगामी वर्षहरूमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने आधार तयार गरेको विश्वास व्यक्त गरिएको छ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्