काठमाडौं, असार ५ — काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित भेटघाट चोक नजिक रहेको आफ्नै निवासमा नेशनल मोडल विद्यालयका प्रिन्सिपल तथा प्याव्सन काठमाडौं जिल्लाका कोषाध्यक्ष डीएन अधिकारी मृत अवस्थामा फेला परेका छन्।
प्रारम्भिक जानकारीअनुसार अधिकारी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन्। घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको र मृत्युको कारणबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ।
परिवार निकट स्रोतका अनुसार अधिकारीले केही समयअघि श्रीमती गुमाएको पीडादायी अवस्था भोगिरहेका थिए। यद्यपि, उनको मृत्युको कारणबारे कुनै आधिकारिक पुष्टि भएको छैन।
शिक्षा क्षेत्रमा मिलनसार, सहयोगी तथा सक्रिय व्यक्तित्वका रूपमा परिचित अधिकारीको निधनको खबरले विद्यालय समुदाय तथा समग्र शिक्षा क्षेत्रलाई स्तब्ध बनाएको छ। विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, शिक्षक तथा शिक्षा सरोकारवालाहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्