
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले विभिन्न मागसहित काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । महासंघकी अध्यक्ष शोभा अर्यालको नेतृत्वमा मंगलबार महानगरपालिका कार्यालय पुगेर उपमेयर सुनिता डंगोलसँग भेटगरि विभिन्न सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
महासंघले शाखामा साना लगानीका स्वरोजगारमूलक मिडिया सञ्चालन गर्ने पत्रकारहरुको बाक्लो उपस्थिति रहेको र साना तथा स्वरोजगारमुखी मिडिया तथा यस शाखा आवद्ध पत्रकारहरुको हकहित, प्रबर्द्धन तथा विकासका लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि अनुरोध सहितको पत्र बुझाएको छ । महासंघले बुझाएको पत्रमा भनिएको छ,
१ पत्रकार महासंघ काठमाडौं शाखामा देशकै सबैभन्दा धेरै स्वरोजगारमूलक मिडिया आवद्ध रहेकाले यिनीहरुको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौं।
२ मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न माग गर्दछौं।
३ साप्ताहिक, पाक्षिक, मासिक तथा मध्यम खालका दैनिक छापा माध्यमको ऐतिहासिक महत्त्व र ति सञ्चार माध्यमले खेलेको भुमिका मनन् गर्दै यस्ता सञ्चार माध्यमको संरक्षण र प्रबर्द्धनका लागि महानगरपालिकाले बिशेष योजना ल्याउन आग्रह गर्दछौं। त्यस्तै न्यु मिडियाको रुपमा विकास भएको अनलाइन सञ्चार माध्यमलाई संरक्षण र विकासको लागि योजना ल्याउन आग्रह गर्दछौं।
४ काठमाडौ जिल्ला शाखामा रहेको पत्रकार कल्याणकारी कोषको रकम हाल १५ लाख रहेकोमा थप २५ लाख रकम उपलब्ध गराइदिनुहुन माग गर्दछौं।
साथै पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि काठमाडौं शाखा मार्फत खर्च हुनेगरी तालिम, गोष्ठी, सेमिनार गर्न कम्तीमा वार्षिक २५ लाख बजेटको व्यवस्था गर्न माग गर्दछौं।
५ लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषि, महिला, दलित, आदिवासी तथा जनजातिहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दछौं।
६ स्थानीय तहबाट निर्माण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावना अनुरुप हुने गरी निर्माण गर्न माग गर्दछौं।
७ यस महानगरपालिकाका सबैखालका कार्यक्रममा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा संग आपसी सहकार्य गर्न आग्रह गर्दछौं।
अध्यक्ष
शोभा अर्याल