
शुकदेव दाहाल
नेपाली कांग्रेसबाट गृहमन्त्रीको जिम्मेवारीमा रहनु भएका नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखक सिंगो नेपाली राजनीतिक एक असल नेताका रुपमा परिचित रहँदै आउनु भएको थियो र छ । संसदमा सालिनताकासाथ तार्किक रुपमा आफ्नो विचार राख्न सक्ने लेखकका धेरै विचारहरु आम रुपमा मननयोग्य रहँदै आएका थिए ।
आम रुपमा उहाँप्रतिको भरोसा र विश्वास पनि उत्तिकै थियो । तर पछिल्लो पटक एकाएक सार्वजनिक रुपमा उहाँले नेतृत्व गरेको मन्त्रालबाट भएको गलत क्रियाकलापप्रति उहाँ समेतको नाम जोडेर समाचार सार्वजनिक भयो । भिजिट भिषा प्रकरणमा अध्यागमन कार्यालयबाट दैनिक ५० लाख रकम घुसका रुपमा संकलन हुने र त्यो गृह मन्त्रालयसम्म पुग्ने गरेको भनेर समाचार सार्वजनिक भएपछि मन्त्री लेखकप्रति आम रुपमा हेर्ने दृष्टिकोण फेरिएको छ ।
भनिन्छ,सय गुण बराबर एक वैगुन हुन्छ भनेर । उहाँको विषयमा त्यस्तै भएको पनि हुनसक्छ । तर जहाँबाट भएको छ वा जे भएको हो त्यो सरासर गलतमात्रै छैन धेरै ठुलो अपराध पनि हो । विदेश पठाउने बहानामा घुस लिएर जुन काम भएको छ त्यो भ्रष्टाचारजन्य काम मात्र होइन एक प्रकारको मानव वेचविखन विरुद्धको अपराध पनि हो । यस्तो कर्म किन भैरहेको छ र हुन्छ । सरकारलाई वा गृह मन्त्रालयको नेतृत्व गर्दै आउनु भएका लेखकले जानकारी राख्नु भएको थियो कि थिएन त्यो उहाँले प्रष्ट पार्नै पर्दछ । विगतदेखि नै यो परम्परागत रुपमा चल्दै आएको र सोही प्रयोजन अनुसार मातहतका निकायबाट सरुवा गरिने गरेको कुरा उठेको छ । यदि त्यो हो भने सिंगो राजनीतिक नेताहरु र यो व्यवस्थाप्रति समेत प्रश्न उठाउनु सकिन्छ । यसअघि के भए भएन त्यो भोलिका दिनमा पक्कै खुल्दै जानेछ ।
विगतमा जे जे भएपनि अहिले आफ्नो मातहमा रहेको कार्यालयबाट भएको यति ठुलो गलत र अनैतिक कामप्रति उहाँले नैतिक जिम्मेवारी लिनै पर्दछ । अहिले उहाँ जस्तो बारम्बार नैतिकताको पाठ सिकाउने व्यक्तित्वले किन राजीनामा दिएर त्यसको छानविनलाई सहज नबनाउने भन्ने प्रश्न धेरै आएको छ । हो, हिजो उहाँले यस्तै प्रकृतिका काण्डहरुमा संसदको रोष्टममा उभिएर निकै हसिलो र उत्साहित मुद्राकासाथ अरु गृहमन्त्रीहरुलाई नैतिकताको पाठ सिकाउँदा सिंगो मुलुकले उहाँको तारिफ गरेको थियो । तर आज उहाँप्रति यसरी प्रश्न तेर्सिरहेका बेला उहाँले किन राजीनामा नदिने त ? के यो प्रश्न जायज छैन । तर कांग्रेसले फेरि एक पटक गल्ती गर्दै गृहमन्त्री लेखक निर्देश भएको ठहर गरेको छ ।
कांग्रेसले लेखकका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उदेश्यले सोमबार देउवा निवासमा बसेको बैठकले लेखक निर्दोश भएको दावी गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशण महतले भन्नुभयो , “गृहमन्त्रीज्युले अहिले जुन विषय सार्वजनिक रूपमा, मिडियामा आएको छ । त्यस सम्बन्धमा उहाँले स–विस्तार आफ्नो कुरा राख्नुभयो । आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन, मैले कुनै कमीकमजोरी गल्ती गरेको छैन भनेर स–विस्तार कुरा राख्नुभयो । हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास ग¥यौ ।,’’ प्रवक्ता महतले भन्नुभयो, ‘‘उहाँको भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन । तर जो संलग्न छन्, ती माथि कारबाही हुनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुई मत छैन । भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुरा हाम्रो लागि मान्य छैन ।
जहाँसम्म गृहमन्त्रीको कुरा छ, उहाँ यसमा संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त भयौँ ।” उहाँले छानबिनको दायरामा नभएपछि गृहमन्त्रीलाई दोषी भन्न नमिल्ने जिकिर गर्नुभयो । लेखकले सोही अनुसार सोमबार संसदमा प्रष्टिकरण समेत दिनु भएको छ । उहाँको भनाई अनुसार मान्ने हो भने उहाँ दोषी हुनुहुन्न भन्ने बुझ्न सकिएको त छ । तर त्यहि विषयमा राजीनामा दिएर मार्गप्रसस्त गर्दै छानविनलाई सहयोग गरेको भए उहाँ निर्दोष रहँदा पनि उहाँको व्यक्तिगत योग्यता अझ माथि जाने थियो र कांग्रेस पनि निश्कलंकित हुने थियो ।
सत्ता र मन्त्री पद त फेरि पनि आउँछ तर नैतिकता भनेको चिज एक पटक गएपछि फर्कन धेरै ठुलो परिषद्को आवश्यकता पर्दछ । यो बुझेको कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले किन बुझेन । सत्ता र शक्तिले गलतलाई पनि केही समय सहि बनाउन सकिन्छ। अहिले लेखकका लागि एउटा गर्जो त टरेको छ । तर आम रुपमा कांग्रेसले उहाँलाई राजीनामा गराउन किन चाहेन यो प्रश्नको उत्तर भने नागरिकले खोजिरहने छन् ।