
काठमाडौँ — साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी उनकी छोरी भोलि नेपाल आइपुग्ने भएकाले शिक्षण अस्पतालको फ्रिजमा शव राखिने संगीतकार बुलु मुकारुङले बताए ।
भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनले नियमित किमोथेरापी गराउँदै आएका थिए ।रसिक बहुआयमिक व्यक्ति थिए । उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू कालजयी गीत हुन् ।