
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर बस्न नसकेपछि सूचना टाँस गरी दिउसो दुई बजेका लागि सारिएको थियो ।
दिउसो दुई बजेका लागि सारिएको बैठक पनि बस्न नसकेपछि पुनः सूचना टाँस गरी भोलि दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग संयुक्त र छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकलाई सभामा बोल्न दिनका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिपक्षी दलहरूको आज संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्च स्तरीय छानबिन आयोग बनाउनु पर्ने अडान यथावत् राखेको छ ।
सत्तापक्षीय दलहरूले भने गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् ।