
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाको १७ औं नगरसभा स्थगित भएको छ । नगरसभामा नेकपा एमालेले बहिस्कार गरेपछि गणपुरक संख्या नपुगेको भन्दै सभाध्यक्ष तथा मेयर राजन श्रेष्ठले तीन दिनका लागि नगरसभा स्थगित भएको घोषणा गर्नुभएको छ ।
संविधानमा व्यवस्था भए अनुसार पहिलो पटक नगरसभा तथा अधिवेशन आह्रवान गर्दा गणपुरक सदस्यहरुको संख्या ५० प्रतिशत पूरा हुनुपर्ने उल्लेख छ । कुल ६६ सदस्य रहेको नगरसभामा नेपाली कांग्रेस र माओवादीका २७ जना प्रतिनिधिहरुमात्रै सहभागि थिए ।कांग्रेसका कतिपय नेता कार्यर्ताले भने एमालेले बहुमतका आधारमा नगरसभा विथोल्न खाजेको आरोप पनि लगाएका छन् ।
स्थानीय तह सञ्चालन कार्यविधि उपदफा (१) बमोजिम गणपुरक संख्या नपुगेमा अध्यक्षले तीन दिन भित्र अर्को बैठकका लागि दफा ३ बमोजिम सूचित गर्नुपर्ने व्यवस्था रहेको छ । साथै कार्यविधि (३ ) उपदफा (२) बमोजिम आव्हान गरेको अधिवेशनमा गणपुरक संख्या नपुगेमा दुई दिन भित्र अधिवेशन बस्ने गरी दफा ३ बमोजिम सूचना गर्नुपर्नेछ । यस्तै ४ को उपदफा (३) बमोजिम पुनः सूचना गर्दा गणपुरक संख्या नपुगेमा कम्तीमा पच्चीस प्रतिशत सदस्यहरुको उपस्थितिमा अधिवेशन बस्न सक्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा व्यवस्था अनुसार बैठकको सञ्चालन र स्थगन (१) अनससार अध्यक्षले सभाको कार्यबोझलाई ध्यानमा राखी कार्यसूची स्वीकृत गरी सभाको बैठक संचालन गर्नुपर्नेभन्ने उल्लेख गरिएको छ । यस्तै कार्यविधि अनुसार सभाको बैठक अध्यक्षले निर्धारण गरेको समय तालिका बमोजिम हुनेछ भने अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने सक्ने व्यवस्था गरिएको छ । ।
नगरसभामा नेकपा एमालेले आफ्ना विभिन्न माग अघि सारेको थियो । एमालेले राखेका असन्तुष्टिहरुलाई बैठकका उल्लेख गर्ने विषयमा मेयर श्रेष्ठले असहमति जनाएपछि नगरसभा बहिस्कार गरेको विदुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा एमाले नेता लेलिन रन्जितले बताउनुभयो । नगरसभामा नेकपा एमालेको बहुमत रहेको छ । एमालेले आजको सभा बहिस्कार गरेको भएपनि आगामी बुधबार ११ गते बस्ने बैठकमा भने सहभागि हुने संकेत दिएको छ ।
नगरसभापछि एमालेका प्रतिनिधिहरुको उपस्थितिमा पत्रकारहरुसँग कुराकानी गर्दै वडा अध्यक्ष रन्जितले बैठकका लागि सबै तयारी भएकाले आजको बैठक नै रोक्ने भन्दा पनि आफूहरु सहभागि नहुने र बैठक सञ्चालनको घोषणा गरेर स्थगित गर्ने कुरामा सहमति जनाएको बताउनुभयो । संविधानमा व्यवस्था गरिए अनुसार असार १० गतेभित्र पालिकाल आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट अनिवार्य रुपमा पेश गर्नुपर्ने हुन्छ । सोही अनुसार बैठक सञचालन गरिएको र एमालेसँगको छलफलपछि बुधबार नगरसभा अघि बढ्ने मेयर राजन श्रेष्ठले बताउनुभयो ।
कांग्रेस निकट एक नगरसदस्यका अनुसार एमालेले आफ्ना असन्तुष्टि राखेको भएपनि आगामी आर्थिक वर्षको बजेटमा आफूहरुले अघि सारेका योजनाकासाथ मेयरको क्षेत्राधिकारभित्र रहने रकमबाट पनि आफ्नो पक्षले ३ करोड भन्दा बढिको योजना पाउनुपर्ने दावी गर्दै आएको थियो । तर मेयर श्रेष्ठसहित कांग्रेसले यसलाई अस्वीकार गरेपछि एमालेले नगरसभा बहिस्कार गरेको नेपाली कांग्रेस आवद्ध अर्का एक सदस्यले नुवाकोट पुकारलाई बताए । नगरपालिकाको अर्को नगरसभा असार ११ गते बुधबार बिहान ११ बजे सुखद पाहुना घर विदुरमा बस्नेगरि स्थगित भएको छ ।