
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ सातदोबाटोमा रहेको ज्ञानज्योति मावि एक छात्रले एसईईमा ४ जीपीए ल्याउन सफल भएका छन् ।
जिल्ला सदरमुकाम भन्दा निकै माथि रहेको उक्त विद्यालयले उत्कृष्ट नतिजा ल्याएसँगै विद्यालयको उचाई थपिएको छ । सदरमुकाममा रहेका विद्यालयले मात्र उत्कृष्ट नतिजा हासिल गर्ने भन्दै विद्यार्थीहरुको चाप बढिरहेका बेला गाउँकै एक विद्यालयले समेत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । यसले सामुदायिक विद्यालयमा पनि क्षमतावान नेतृत्व भए प्रगती गर्न सक्छ भन्ने सन्देश दिएको छ । उक्त विद्यालयका बसन्त भट्टले एसईईमा ४ जीपीए प्राप्त गरेको प्रध्यानाध्यापक सुरेन्द्रराज भट्टले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
यस्तै विद्यालयकी छात्रा पूजा न्यौपानेले पनि ३.९६ जीपीए प्राप्त गरि उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रध्यानाध्यापक भट्टले जानकारी दिए ।विद्यालयबाट यस वर्ष ४१ जनाले परिक्षा दिँदा ३४ जना उत्कृष्ट नतिजासहित पास भएको विद्यालयको भनाई रहेको छ ।यसअघि पृथ्वी र अकिडका एक एक जनाले ४ जिपिए ल्याएका थिए । यो सँगै नुवाकोटबाट ४ जिपिए ल्याउने तीन जना पुगेको छ ।
भुल सुधार ःयस समाचारको हेडलाइनमा भुलबस बसन्त भट्ट हुनुपर्नेमा अन्यथा हुन गएकोमा क्षमायाचनाकासाथ सच्याइएको छ । सम्पादक