
बसन्त भट्ट,सहायक प्रधानाध्यापक पृथ्वी मावि,सुरेन्द्र भट्ट ज्ञानज्योति मावि किस्पाड. २ सातदोबाटो
– शुकदेव दाहाल
विदुर । नुवाकोट जिल्लाको दुई सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेसँगै यतिखेर विद्यार्थीको धेरै चर्चा छ । तर तिनै विद्यार्थीलाई उत्कृष्ट बनाउने शिक्षकका बारेमा भने कमैले चासो राखेको पाइन्छ । तर नुवाकोट जिल्लाको सामुदायिक विद्यालय मध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएका विदुरको पृथ्वी मावि र किस्पाड.को ज्ञानज्योति माविको नेतृत्व भने एउटै दाजूभाईले नेतृत्व गर्दै आएका छन् ।
पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछानेको नेतृत्वमा विद्यालयलाई उत्कृष्ट बनाउने काममा भने सहायक प्रधानाध्यापक बसन्त भट्ट क्रियाशिल हुनुहुन्छ । विद्यालयको मुख्य काम बाहेक विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउन,कक्षा सञ्चालनको व्यवस्थापन गर्ने, लगायतका कामको सबै जिम्मेवारी लिएर बसन्त भट्टले देखाएको सक्रियता र उच्च इच्छाशक्तिका कारण पृथ्वी माविले अहिले नुवाकोट जिल्लाको उत्कृष्ट पहिलो विद्यालयको रुपमा नाम लेखाउन पाएको छ । पृथ्वी माविको नतिजा जिल्लाकै उत्कृष्ट नतिजाभित्र पर्दछ, उत्कृष्ट १९ मध्ये पृथ्वीबाट मात्रै १२ जना छन्
प्रधानाध्यापक बाबुराम सरलाई मैले गर्नुपर्ने सहयोग र सरले मलाई गर्ने सहयोग दुवै मिलेकाले नै यो सम्भव भएको हो,जसमा हाम्रा शिक्षक मित्रहरुको उत्तिकै हात छ,भट्टले नुवाकोट पुकारसँग भन्नुभयो, । अग्रेजी विषयमा स्नाकोत्तर गर्नुभएका भट्ट जिल्लाका शिक्षकहरु मध्येमा अब्बल रुपमा गनिदै आउनु भएको छ ।
स्मरणीय छ, पृथ्वी माविबाट ९१ जना विद्यार्थीले परीक्षा दिएकामा ५७ जनाले ए प्लस ल्याउन सफल भएका छन् । २८ जनाले ए, ५ जनाले बी प्लस र १ जना नन ग्रेडिडमा परेका छन् ।
यस्तै जिल्लामा सदरमुकाम भन्दा ८ किलोमिटर माथि रहेको किस्पाड.स्थित वडा नं २ सातदोबाटोमा रहेको ज्ञानज्योतिले यसपटक उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । जसको नेतृत्व बसन्त भट्टका भाई सुरेन्द्र भट्टले गर्दै आउनु भएको छ । अंग्रेजी विषयमा शिक्षक सुरेन्द्रले विगत दुई वर्षदेखि विद्यालयको प्रशासनिक नेतृत्व लिएसँगै विद्यालयको अवस्था फेरिएको छ । विद्यार्थीहरुलाई बिहानदेखि बेलुकासम्म अतिरिक्त कक्षाको व्यवस्था गरेर अध्ययन गराएसँगै विद्यालयको अवस्थामा सुधार भएको प्रधानाध्यापक भट्टले बताउनुभयो ।
उक्त विद्यालयमा ४१ जना विद्यार्थीले एसईई दिएकोमा यो वर्ष ३४ जना ग्रेडेड भएका छन् । यो वर्ष विद्यालयमा अध्ययनरत बसन्त भट्टले ४ जिपिए ल्याउन सफल भएका छन् । त्यति मात्रै होइन उक्त विद्यालयकी छात्रा पूजा न्यौपानेले पनि ३.९६ जीपीए प्राप्त गरि नुवाकोट जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेकी छिन् । उनले प्राप्त गरेको नतिजा छात्रहरुमा सबैभन्दा धेरै जिपिए हो ।
अंग्रेजी विषयमा स्नाकोत्तर गरेका भट्ट दाजुभाईको यो कुशल नेतृत्व र सामुदायिक विद्यालयलाई केही गरौं भन्ने इच्छाशक्तिप्रति यतिखेर नुवाकोट जिल्लाले गर्भ गरिरहेको छ । नुवाकोट किस्पाड.का भट्ट दाजुभाईले जस्तै अन्य विद्यालयका प्रधानाध्यपाकहरुले पनि त्यस्तै इच्छाशक्ति देखाए सामुदायिक विद्यालयको नतिजा पनि उत्कृष्ट हुन्छ भन्ने सन्देश यो पटक पृथ्वी र ज्ञानज्योतिले प्राप्त गरेको नतिजाले देखाएको छ ।