
काठमाडौं । लामो समयपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।
आजको बैठकका लागि ‘एजेन्डा’ पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले तय गरिसकेको छ । हिजो बसेको बैठकले केन्द्रीय समितिका लागि एजेन्डा तय गरेको थियो । बैठकमा गत असोजदेखि माघसम्मको सयदिने अभियानको प्रतिवेदन, महाधिवेशन गर्न नसकेका सात भातृ संस्थाका विषयमा छलफल हुनेछ ।
बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने तयारी गरिएको कांग्रेसका एक नेताले नुवाकोट पुकारलाई बताउनुभयो । यस्तै बैठकमा गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।
केन्द्रीय समितिको अर्को एजेन्डा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणसम्बन्धी छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पनि चैत मसान्तमा सदस्ताको विवरण पठाइसक्न अन्तिम पटकका लागि गत माघमा नै परिपत्र गरेको थियो । तर, चैत मसान्तसम्म केही जिल्लाबाहेक कसैले नपठाएपछि वैशाख १५ गतेसम्मको म्याद थप गर्दै अर्को परिपत्र भएको थियो । तर, दोस्रो परिपत्रमा पनि कुनै प्रगति नभएपछि असार मसान्तसम्मको म्याद थपेर पुनः परिपत्र गरिएको छ ।
कांग्रेसको महाधिवेशनको कार्यकाल आगामी मंसिरमा सकिदैछ । त्यसपछि एक वर्ष थप गर्ने सहज संवैधानिक व्यवस्था रहेको छ । त्यसपछि पनि मुलुकको अवस्थालाई हेरेर ६ महिना थप गर्न सकिन्छ ।त्यसपछि भने अनिवार्य महाधिवेशन गर्नुपर्ने हुन्छ । क्रियाशिल सदस्यमा देखिएको ढिलासुस्तीका कारण मंसिरमा महाधिवेशन हुने सम्भावना भने टरिसकेको छ । अब ०८३ को मंसिरमा मात्रै महाधिवेशन गर्ने सम्भावना छ ।