
विदुर । नुवाकोट जिल्लाको जिल्ला अस्पताल त्रिशूली अस्पतालका लागि दुई वटा डायलासिस मेसिन उपलब्ध भएको छ ।
बागमती प्रदेश अन्तर्रगत स्वास्थ्य मन्त्रालयबाट प्राप्त उक्त मेशिनलाई आज अस्पतालमा राखेर औपचारिक रुपमा शुभारम्भ गरिएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उक्त उपकरणका लागि मुख्यमन्त्री बहादुरसिं लामा, प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशानलयको सहयोग भन्दै त्रिशूली अस्पतालले धन्यवाद समेत दिएको छ ।
अक्त उपकरण उपलब्ध भएसँगै अब बिरामीहरुलाई पालो पर्खनुपर्ने झण्झड कम हुने अध्यक्ष बुढाथोकीले बताउनुभयो । उहाँले नुवाकोट र रससुवा तथा धादिड. जिल्ला आसपासका बिरामीलाई डाइलासिस गर्न काठमाडौं जानुपर्ने बाध्यता भने अन्त्य भएको बताउनुभयो ।
मृगौला फेल भएका बिरामीहरुले त्यसको प्रत्यारोपण नभएसम्मका लागि रगतलाई स्वच्छ राख्नका लागि यस्तो मेसिनको प्रयोग गरिन्छ । यसको खर्च एकपटकका ५ देखि १० हजार लाग्ने गरेको छ । सरकारले मृगौला रोगीहरुका लागि निःशुल्क डाइलासिस गर्ने व्यवस्था गरेको छ ।