
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा। महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् । “हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,” उनले भने ।
उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए । “हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं । यही नै पार्टीको राइट टु द सेन्टर हो । कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन् । तर हामी आस्थावान् छौं । यही हाम्रो पार्टीको आधार हो, र यसको संरक्षण गर्नुपर्छ,” महतको भनाइ थियो ।
उनले संविधान निर्माणका बेला सनातन धर्म संस्कृतिको संरक्षणको विषय उल्लेख गरिएको स्मरण गर्दै भने, “त्यो ऐतिहासिक निर्णय थियो, तर अहिले त्यो पहिचान कमजोर पार्ने प्रयास भइरहेको छ । पार्टीले आफ्नो यो वैचारिक धरातललाई इन्ट्याक्ट राख्नुपर्छ ।”
डा. महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे ।
सक्रिय सदस्यताको अवस्था र पार्टी संगठनप्रति असन्तुष्टि
डा.महतले सक्रिय सदस्यता अभियानको कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै भने, “सक्रिय सदस्यता परम्परागत नेतृत्व सुरक्षित गर्ने नाममा घर–परिवारको सदस्य मात्र बढाइएको छ । यो प्रवृत्तिले साँचो कार्यकर्ता छुटेका छन् ।”
डा. महतले पार्टीले महिला संगठनलाई गाउँस्तरमा सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्न सुझाव दिए । “विदेश गएका युवाहरूको अनुपस्थितिमा गाउँघरमा महिला नै प्रमुख शक्ति हुन् । महिला संगठनमार्फत कांग्रेसको वास्तविक जनाधार निर्माण गर्न सकिन्छ,” उनले भने ।
गठबन्धन सरकार र मन्त्रीहरूको प्रदर्शनप्रति टिप्पणी
गठबन्धन सरकारमा कांग्रेसको सहभागिता सन्दर्भमा उनले भने, “गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो । तर सरकारमा बसेपछि कम्तीमा ५० प्रतिशत प्रभाव राख्ने हिसाबले हामी बसेका हौं ।” उनले सरकारमा रहेका कांग्रेस मन्त्रीहरूको प्रदर्शन अरु दलका मन्त्रीभन्दा उत्कृष्ट देखिनु पर्ने र त्यसले जनतामा सन्देश दिनुपर्ने बताए ।
प्रदेश सरकार र नेताको क्षमताप्रति प्रश्न
डा. महतले प्रदेश सरकारहरूमा नेतृत्वको कमजोरी रहेको उल्लेख गर्दै प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठाए । “प्रदेशमा सिनियर नेताको अभाव छ । अराजकता बढेको छ । यदि यसरी नै गयो भने प्रदेश संरचना प्रति नै जनविश्वास हराउने खतरा छ,” उनले भने ।
जनसम्पर्क समिति र प्रवासी नेपालीहरूलाई सम्बोधन
विदेशस्थित जनसम्पर्क समितिहरू कमजोर बनेको, अधिवेशन समयमा नहुने, नाउँमात्रको समितिहरू रहेकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे । “नयाँ पार्टीहरूले विदेशमा सक्रियता बढाएका छन् । हामीले त्यसलाई रोक्न सकेनौं भने प्रवासी नेपालीहरूको समर्थन गुम्नेछ,” उनले भने । विदेशमा रहेका नेपालीहरुलाई पार्टीमा जोड्न र भएकाहरुलाई इन्ट्याक्ट राख्न विश्वव्यापीरुपमै सम्पर्क समिति बनाउन जोड दिदै उनले भने – “त्यसको लागि पार्टीले ग्लोबल र क्षेत्रिय संयन्त्र बनाउन जरुरी छ । ”
पार्टी निर्माण र आर्थिक अनुशासनमा ध्यान दिनुपर्नेमा जोड
उनले पार्टीको सांगठनिक संरचना, कार्यशैली र आर्थिक अनुशासनमा व्यापक सुधार आवश्यक रहेको बताए । “सरकारको लगानी प्रभावकारी छैन, रोजगारी सिर्जना भइरहेको छैन । प्रदेश र केन्द्र दुवैतिर कुशासनको असर छ,” डा। महतले जोड दिए । उनले भने – “ नेपाली कांग्रेसले नै हो मुलुकको आर्थिक रुपान्तरण गर्ने, युवाहरुलाई रोजगार बनाउने, यो कुरालाई ध्यानमा राखेर अघि बढ्न जरुरी छ ।” उनले पार्टी नेतृत्वलाई जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न आग्रह गरे ।