
रसुवाको बाढी: उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन डा. महतको सरकारलाई ध्यानाकर्षण काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको बताएका छन्।
डा. महतका अनुसार, बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्रीहरू र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीहरू समेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको उनले उल्लेख गरेका छन्। “मानवीय क्षतिको आशंका र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइसकेको छैन,” उनले लेखेका छन्, “सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत कार्यलाई उच्चतम प्राथमिकता दिनुपर्छ।” डा. महतले उद्धार कार्य अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै संकटको घडीमा सरकारको सक्रियता निर्णायक हुने बताएका छन्।
साथै, उनले यो संकटको बेला प्रभावित परिवारहरू र सम्पूर्ण रसुवा क्षेत्रका नागरिकप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्। “हामी सदैव तपाईंहरूको साथमा छौं,” उनले लेखेका छन्, “हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौं भन्ने दृढ विश्वास लिएको छु।