बेलकोटगढी, नुवाकोट । बेलकोटगढी नगरपालिकाको दोस्रो अधिवेशन तथा आठौँ नगरसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र करिब ९३ करोड रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
नगरप्रमुख जगतबहादुर गुरुङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सीप विकास, रोजगारी सिर्जना, युवा सशक्तीकरण तथा प्रविधिमैत्री विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। युवापुस्ताको भावना र आवश्यकतालाई सम्बोधन गर्दै समृद्ध, आत्मनिर्भर तथा आधुनिक नगर निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख गुरुङले बताउनुभयो।
नीति तथा कार्यक्रममाथिको विस्तृत छलफल सम्पन्न भएपछि आयोजित बन्द सत्रमा नगर उपप्रमुख शिवप्रसाद दाहालले आगामी आर्थिक वर्षका लागि करिब ९३ करोड रुपैयाँ बराबरको बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
नगरसभाले नगरप्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख दाहालद्वारा प्रस्तुत बजेटलाई सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
अधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नगरसभा सदस्य, सामाजिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नगरपालिकाले आगामी वर्षको बजेटमार्फत विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्