
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।
काठमाडौँमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कार्यकारी निर्देशक शाक्यले मर्मत कार्यका लागि विद्युत् आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताउनुभयो ।
कार्यकारी निर्देशक शाक्यले चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आज र भोली विद्युत् आपूर्ति बन्द गर्न लागिएको बताउनुभयो ।
कार्यकारी निर्देशक शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको उल्लेख गर्नुहुँदै विद्युत् क्षमता वृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको बताउनुभयो ।
कार्यकारी निर्देशक शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरावलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको पनि बताउनुभयो ।
यसैबीच प्राधिकरणले आजै एक प्रेस विज्ञप्ति जारी गर्दै चितवनको चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि निकालेको तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यक्त धारणा प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत् लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई “लोडसेडिङ तालिका“ शीर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको प्राधिकरणले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।
लोडसेडिङ नेपालको लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरूमा पर्न गएको अन्योल प्रति प्राधिकरण सचेत रहेको विज्ञप्तिमा उल्लेख छ ।
