आज देशभरकाे माैसम: कोशीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना; अन्य प्रदेश यस्तो रहनेछ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १४, आईतवार ०८:५४

काठमाडौं, असार १४ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको जनाउँदै भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।

गण्डकी र लुम्बिनीका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।


हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतः सफा रहे पनि देशका अधिकांश भूभागमा आंशिक बदली छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।


आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ भने कोशीको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने चेतावनी दिइएको छ।
आज राति पनि देशभर बदली कायम रहनेछ।

कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


यसैगरी, मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।


महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने जनाउँदै भारी वर्षा, चट्याङ र हुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *