
काठमाडौं । साउन १९ । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ।
सोमबार बिहान ३ बजे काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको गाउँपालिका अध्यक्ष शिवप्रसाद अधिकारीले जानकारी दिनुभयो। नेकपा एमाले नुवाकोटका सचिवालय सदस्य तथा ४४ वर्षीय रिमाललाई निमोनिया लगायतका स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि वीर अस्पतालमा भर्ना गरिएको थियो।मृगौला रोगबाट समेत पिडित रहेका उनलाई चिकित्सकहरुले आराम गर्न सुझाव दिए थिए ।
तर सामाजिक व्यक्तितव भएकाले अलि बढि व्यस्त रहँदै आएका थिए । रिमालको अन्तिम संस्कार सोमबार बिहान नुवाकोटको बुहुनिबेसीमा हुने पारिवारिक स्रोतले जनाएको छ।
यसैबीच रिमालको असामयिक निधनप्रति तारकेश्वर गाउँपालिकाले दुःख व्यक्त गरेको छ। गाउँपालिका अध्यक्ष अधिकारीले शोक वक्तव्य जारी गर्दै वडा नं ६ का अध्यक्ष तथा कार्यपालिका सदस्यको रूपमा रिमालले पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्नुभएको छ। साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली र समवेदना प्रकट गरिएको छ।
गाउँकार्यपालिकाको निर्णयअनुसार सोमबार तारकेश्वर गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको छ। साथै, गाउँपालिकाका सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ।
