
हेटौँडा — आज मंगलबार नियुक्त हुन लागेका बागमती प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको शपथग्रहणको कार्यक्रम समेत तय भएको छ । प्रदेश प्रमुखले अपराह्न्न २ बजे नियुक्त गरेसँगै अपराह्न ४ बजे शपथग्रहणको कार्यक्रम तय गरिएको छ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेस गरेका थिए।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। आज शपथ लिए लगत्तै बानियाँले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । एमालेबाट समेत मन्त्री नियुक्त गरेर आज नै मनित्रमण्डल विस्तारको तयारी भएको बुझिएको छ । बानियाँ बागमती प्रदशेका छैटौं मुख्यमन्त्री हुन् । एमालेसँगको सहमति अनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गर्नेछन् ।