
साउन २१ बुधबार हेटौडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्रीमा नियुक्त भएसँगै गरिबका छोराछोरीलाई डाक्टर बनाउने घोषणा गर्नुभएको छ । उहाँले आफूले पहिलो काम भनेको प्रदेश सरकारबाट गरिब, असहाय, जेहेन्दार, पिछडावर्गबाट छानेर ६ जनालाई एमबीबीएस पढ्नका लागि आवश्यक छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।
पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममार्फत मुख्यन्त्री बानिायँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकले निर्णय नै गरिसकेको जानकारी दिँदै अब प्रदेश सरकार जनाताले अनुभुत गर्नेगरि सञ्चालन गर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले ६ जना मध्ये २ जना मेडिकल डाक्टर, २ जना पशु सम्बन्धि र २ जना आयुर्वेद चिकित्सकलाई आवश्यक प्रक्रिया पूरा गरेर प्रदेश सरकारले नै पढाउने बताउनुभयो । यस्तै उहाँले १० जना नर्सका लागि पनि सरकारले खर्च व्यहोर्नु बताउनुभयो । नर्सका लागि पनि सरकारले गरिब, असहाय, जेहेन्दार विद्यार्थी , पिछडा वर्गसहित समावेशी आधारमा छनोट गरेर निःशुल्क अध्ययनको व्यवस्था मिलाउने उल्लेख गर्नुभयो । उहाँले तत्कालिन मुख्यमन्त्री बहादुरसिंह लामालसँग कुनै विवाद नभएको र सहमतिका आधारमा अघि बढ्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
यस्तै उहाँले अब आफूले प्रदेश सरकार कसरी चल्नुपर्दछ भनेर देखाउँने समेत दावी गर्नुभयो । मुख्यमन्त्री बानियाँले बुधबार पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हालिसक्नु भएको छ । आफ्नै पार्टीका नेतालाई हटाएर मुख्यमन्त्री बनेको भन्दै चर्को आलोचना भैरहेका बेला उहाँले पूर्व सहमति अनुसार नै आफू अघि बढेको बताउनुभयो । अर्को प्रशंगमा उहाँले आफ्नो कम्पनीले कतैपनि नारम्रो काम गरेको रेकर्ड नभएको दावी समेत गर्नुभयो ।