
विदुर। । कृषि क्षेत्रका लागि महत्वपूर्ण जिल्लाहरुभित्र पर्ने नुवाकोट जिल्लामा यो वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ । कृषि विकास कार्यालय नुवाकोटका सूचना अधिकारी प्रवेश आचार्यले दिनुभएको जानकारी अनुसार १२ पालिका रहेको नुवाकोटमा दुप्चेश्वर,तादी र किस्पाड.गाउँपालिकामा भने शतप्रतिशत रोपाई सकिएको छ ।
यस्तै शिवपुरी गाउँपालिकामा धान रोपाइँमा भने केही ढिलाई भएको छ । शिवपुरीमा भने अझै १५ प्रतिशत धान रोपाई बाँकी रहेको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।
शिवपुरीमा मकै र कतिपय स्थानमा भने आकाशे पानीको भर पर्नुपर्ने भएकाले पनि केही ढिलाई भएको हो । यस्तै विदुर, ककनी, सुर्यगढी, लिखु, तारकेश्वर बेलकोटगढी पञ्चकन्या लगायतका पालिकामा भने ९५ प्रतिशत भन्दा माथि धान रोपाई सकिएको छ । केही थोरै स्थानमा मात्रै रोपाई गर्न बाँकी रहेको छ ।
नुवाकोट जिल्लामा कुल ३२ हजार ७ सय ३५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये २४ हजार ६ सय ६९ हेक्टरमा धान रोपाई हुँदै आएको छ । पछिल्लो समय नुवाकोट जिल्ला धानबालीसँगै तरकारीमा आलुका लागि प्रख्यात रहेको छ । यस्तै फलफूका लागि पनि नुवाकोट सफल जिल्लामा रुपमा परिणत हुँदै आएको छ ।
सरकारले आलुका लागि प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना (आलु जोन) मार्फत आलु खेतीको विकासमा सहयोग गर्दै आइरहेको छ ।
यस्तै स्थानीय तहहरुले पनि कृषि क्षेत्रलाई आधुनिकिकरणका लागि आधुुनिक खाले औचारहरु उपलब्ध गराउँदै आइरहेका छन् । धान चुट्ने मेसिन, गौ चुट्न मेशिन तथा हाते ट्याक्टरको सहयोगले किसानहरुलई कृषि कर्ममा निकै सहज हुँदै आएको छ ।