
विदुर । बेलकोटगढी नगरपालिकाले आफ्नो पालिकाभित्रका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ । नगरपालिकाको शिक्षा समितिको शुक्रबार बसेको बैठकले नगरभित्र रहेका ५४ विद्यालयहरु मध्येबाट आवश्यता अनुसार दरबन्दी थप र कटौती गरेको छ ।
नगर शिक्षा शाखा प्रमुख सलहादुर पाण्डेका अनुसार नगरपालिकाभित्रका १२ माध्यमिक विद्यालयमा संघीय सरकारबाट प्राप्त भएका ११ अनुदान कोटा वितरण गरिएको छ । विद्यार्थी संख्या भएको र विषयगत शिक्षक दरबन्दी कम भएको विद्यालयहरुमा दरबन्दी थप गरिएको शाखा प्रमुख पाण्डेले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
समिति बैठकले मुख्य रुपमा माध्यमिक विद्यालयका लागि दरबन्दी व्यवस्थापनमा जोड दिएको छ । विद्यार्थीको संख्याका आधार सकेसम्म माविलाई भने शिक्षकको अभाव हुन नदिने नगरपालिकाको योजना रहेको देखिन्छ । माविमा दरबन्दी पूरा भएसँगै आधारभूतका लागि प्राथमिकतामा राखिएको छ ।
आधारभूत विद्यालयमा पनि विद्यार्थीको संख्या अनुसार दरबन्दी व्यवस्थापन गरिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो। ,हामीले मुख्य रुपमा विद्यार्थी संख्या भएको माविमा शिक्षक अभाव नहोस् भन्ने उदेश्य राखेका छौं, त्यसपछि प्राथमिकताका आधारमा विद्यार्थी प्रयाप्त भएका आधारभूत र प्राथमिक विद्यालयका लाािग दरबन्दी व्यवस्थापन गरेका छौं पाण्डेले नुवाकोट पुरकासँग भन्नुभयो, ।
प्रमुख पाण्डेका अनुसार बेलकोटगढी भन्ज्याड. माविका लागि २ ओटा संघीय अनुदान कोटा थप गरिएको छ । यस्तै महादेव मावि बाघाखोरका लागि पनि २ ओटा संघीय अनुदान कोटा गप भएको छ ।
यस्तै वडा नं ६ देउरालीमा रहेको मालिका माविका लागि १, वडा नं ७ शिलादेवी माविका लागि १, वडा नं ९मा रहेको महामाया माविका लागि १, वडा नं ६ मा रहेको गौलिड्.गेश्वर माविका लागि १, वडा नं ५ मा रहेको कामरुदेवी माविका लागि १ ,वडा नं २ मा रहेको आरुखर्क माविका लागि १ र वडा नं ३ मा रहेको लक्ष्मीमेश्वर माविका लागि १ दरबन्दी थप गरिएको छ ।
यस्तै बेलकोटगढी १२ मा रहेको चन्दा माविको दरबन्दी सोही वडामा रहेको भृकुटी माविमा मिलान गरिएको छ । कामरु माविमा थप गरिएको प्रावि दरबन्दी सरस्वती आधारभुत विद्यालयबाट मिलान गरिएको छ ।
उक्त दरबन्दी ०८३ वैशाख १ बाट मात्रै कामरुदेवी माविमा मिलान हुनेछ । कामरु माविका लागि प्राप्त अर्को दरबन्दी भने तत्काल नै मिलान हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाभित्र रहेका अन्य विद्यालयबाट ज्यालामुखी प्राथमिक विद्यालयमा पनि १ दरबन्दी थप गरिएको छ । नगरपालिकाले माध्यमिक तहमा थप गरेका दरबन्दी भने मुख्य तीन विषय मध्ये विद्यालयको आवश्यकता अनुसार प्रदान गरिने शिक्षा समितिका प्रमुख तथा नगरपालिका प्रमुख जगत लामाले जानकारी दिनुभयो । उक्त दरबन्दी विज्ञान, गणित र अंग्रेजी तीन विषय मध्ये विद्यालयले आफूलाई आवश्यकता परेको विषय छनोट गर्न पाउने छन् ।
नगरपालिकाले दरबन्दी मिलान गरेसँगै नगर पालिकाभित्र रहेका माध्यमिक विद्यालयमा दरबन्दी समस्या केही हदसम्म हल भएको मेयर लामाको भनाई रहेको छ । बेलकोटगढीमा तीन तह प्रावि, आधारभूत र माध्यमिक गरि ५४ विद्यालय रहेका छन् ।
जसमा ४८० शिक्षक कर्मचारी कार्यरहत रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । हाल थप भएका ११ दरबन्दीका लागि स्थायी शिक्षकका लागि भने शिक्षा विकास तथा समन्वय इकाईको सहमति सरुवा गरेर ल्याइने जनाइएको छ ।