
काठमाडौं । नुवाकोट,रसुवा र धादिड.सहितका जिल्लाबासीहरुका लागि पायक पर्ने स्थानमा निजी क्षेत्रबाट सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीको नेतृत्वमा राजधानीको तारकेश्वर नगरपालिका वडा नं १० स्थित लोकतान्त्रिक चोकमा शुभम् इन्टरनेशलन अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालले दिने सबै सेवा सुविधाको पूर्णतासँगै बिहीबार(आज) एक कार्यक्रमकाबीच पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै डा. यादवले आफूले पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित अस्पतालको उद्घाटन गर्न आएको भन्दै आफ्नो इज्जत रहनेगरि काम गर्न आग्रह गर्नुभयो ।
उहाँले यो क्षेत्रको सेवा निकै जटिल हुने भन्दै अस्पताल व्यवस्थापनलाई पैसा कमाउने भन्दा पनि सेवा प्रदान गर्ने ढंगले काम गर्न सुझाव दिनुभयो । उहाँले अहिले पनि देशका नागरिकले स्वास्थ्य सुविधा पाउन नसकेकोमा दुःख व्यक्त गर्दै राजनीतिक दलहरु निर्वाचनका बेला जनताको घर घरमा पुगेजस्तै गरि स्वास्थ्य सेवा प्रदान गर्नु आग्रह गर्नुभयो । पूर्व राष्ट्रपति डा. यादवले एउटा विशेषज्ञ चिकित्सक बन्न १५ वर्ष लाग्ने भन्दै चिकित्सकहरुको सेवा अनुसारको सम्मान हुनुपर्नेमा पनि जोड दिनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्मा भएको कार्यक्रमा कांग्रेस नेता अर्जुननरसिंह केसी, बागतमी प्रदेशका स्वास्थ्य मन्त्री अमन मास्के,संविधानसभा सदस्य तथा कांग्रेस नेता जगदीश्वरनरसिंह केसी,तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महजर्न,पूर्व मेयर रामेश्वर बोहोरा, वडा नं १० वडा अध्यक्ष लगायतका वक्ताहरुले अस्पतालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा केसीले आफू ६७ वर्षसम्म जनातको सेवा गरेर आएको भन्दै अबका दिनमा पनि अस्पताल र आफूले सेवा भावकासाथ काम गर्ने बताउनुभयो । उहाँले पैसा नभएकाहरुले पनि उपचार पाउने भन्दै पैसा भन्दा सेवा ठुलो भएको बताउनुभयो । अध्यक्ष केसीले सरकारले उचित रुपमा स्वास्थ्य सेवा दिनुभन्दा पनि स्ष्ट मात्रै गर्दै आएको भन्दै वास्तविक रुपमा जनताले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट १८ औं गुणा प्रतिफल पाउन सकिने भन्दै स्वास्थ्य र शिक्षाको विकास नभईकन देशको विकास सम्भव नहुने बताउनुभयो । वरिष्ठ पत्रकार राजन कुईकेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अस्पतालका सञ्चालक समिति सदस्य सरोज केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
विगत तीन वर्षदेखि अस्पताल सञ्चालन भएको भएपनि विभिन्न सेवासहित अस्पतालको औपचारिक शुभारम्भ भने हालै मात्रै गरिएको छ । ५० शष्या क्षमताको अस्पतालमा विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।