
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बोर्डले असोज मसान्तभित्र नवीकरण गरेमा कुनै थप शुल्क नलाग्ने जनाएको छ । तर कातिक ३१ गतेपछि भने चर्को विलम्ब शुल्क लागू हुने बोर्डले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
बुधबार बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ । यसका लागि बिमितहरूले अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत २०८२ कार्तिक ३१ गतेभित्र अनिवार्य रूपमा स्वास्थ्य बिमा नवीकरण गर्नुपर्नेछ ।
समयमा नवीकरण लाग्ने शुल्क
बिमा म्याद अवधिपछि नवीकरण गर्ने बिमित परिवारलाई भने शुल्क लाग्ने बोर्डले जनाएको छ । म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्नेछ । त्यसपछि ६ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने जनाइएको छ ।
६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ । एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत थप शुल्क लाग्नेछ । दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने बोर्डले जनाएको छ ।
