
१७ भदौ, बुटवल । दुई श्रीमती भएको भन्दै चौतर्फी आलोचनकाबीच रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।
डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए ।
अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’ रास्वपाले पनि उनको बहुविवाह भए नभएको बारे बुझेर निर्णय गरेको जनाएको छ ।
