
शिवपुरी कृषि रूपान्तरण परियोजना अन्तर्गत वडा नं ८ का महिलाहरूले उत्पादन गरेको अकबरे खुर्सानी
नुवाकोट पुकार समाचारदाता
शिवपुरी। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले कृषि क्रान्तिका रुपमा आफूलाई रुपान्तरण गर्न सफल भएको छ ।
गाउँपालिकाको यो सक्रियताले गरे के हुँदैन भन्ने गतिलो उहाहरण समेत दिएको छ । गाउँपालिकामा अध्यक्ष गोविन्द थपलीयाको नेतृत्वमा अत्यन्त महत्वपूर्ण खेतीयोग्य जमिन रहेको शिवपुरीका गाउँ गाउँका महिलाहरु कृषि समूहमा आवद्ध भएर कृषि परियोजनामा सहज रुपमा जोडिएका छन् ।
गाउँपालिकाले शिवपुरी कृषि रूपान्तरण परियोजना सञ्चालन गरेसँगै अधिकांश वडाका महिलाहरुले समूह बनाएर सो परियोजना सँगको सहकार्यका विभिन्न् आयमुलक तथा नगदेबालीको उत्पादनमा सक्रियता देखाएका छन् । जसको उदाहरण हो, शिवपुरी गाउँपालिका वडा नं ८ का महिलाहरुले गरेको अकबरे खुर्शानी खेती । अकबरे खुर्शानी खेतीबाट महिलाहरुले आजभोलि राम्रो आम्दानी गरिरहेका छन् ।
गाउँपालिकाले कृषिमा आत्मनिर्भर र निर्यातसम्म गर्न सक्नेगरि तीन प्रकारको समूह निर्माण गरेको छ । उक्त परियोजना अनुसार तरकारी खेती,बाख्रा पालन र दुध उत्पादनका लागि महिला समूह निर्माण गर्दै महिलाहरुलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गर्दै आएको छ ।

३० महिने उक्त परियोजना अन्तर्रगत गाउँपालिकाले २ करोड ५० लाख खर्च गर्नेछ भने सोही परियोजनासँग जोडिएको हेफर नेपालले त्यसको ३० प्रतिशत अर्थात १ करोड ७ लाख खर्च गर्नेछ । गाउँपालिका अध्यक्ष गोविन्द थपलीयाका अनुसार पालिकाले गर्ने खर्च सबै कृषकका लागि खेती गर्दा आवश्यक पर्ने विरुवा, औजार , मल, विउ,आवश्यक टर्नेलका लागि चाहिने प्लास्टिक,विरुवाका लागि आवश्यक पर्ने अन्य प्राविधिक कुराहरुमा सहयोग गर्दछ भने हेफर नेपालले भने टोल टोलमा महिला समूह बनाउने लगायतका प्रशासनिक तहमा खर्च गर्दछ ।
पालिकाले बाख्रापालक समूहमा रहेका किसानहरुका लागि पालिकाले तय गरेको मापदण्ड पूरा गर्ने कृषकलाई १५ हजार खोर निर्माणका लागि समेत सहयोग गर्ने नीति लिएको छ । यसरी कृषिको विकासका लागि मुख्य लक्ष्यसहितको उक्त परियोजना सञ्चालनपछि पालिकाको सोही परियोजनाबाट किसानहरुले झण्डै २ करोड बराबरको तरकारी बिक्री गरिसकेको अध्यक्ष थपलीयाले जानकारी दिनुभयो ।

परियोजनाको उदेश्य एक टोल एक समूह र एक घर एक सदस्य, ः गाउँपालिकाअध्यक्ष गोविन्द थपलीया
उहाँले भन्नुभयो, हाम्रो उदेश्य शिवपुरी गाउँपालिकालाई कृषि क्षेत्रमा सबल बनाउनु हो,जसका लागि अनवरत रुपमा लागिरहेको छु ।
उहाँले ३० महिनामा गाउँपालिका भित्रका १६ सय महिलाहरुलाई समूहमा समावेश गराउँदै कृषि परियोजानमा आवद्ध गराउने लक्ष्य रहेको र सो अनुसार आफूहरुले काम गरिरहेको बताउनुभयो ।

उहाँले परियोजनाको उदेश्य एक टोल एक समूह र एक घर एक सदस्य बनाउने रहेको र सो अनुसार काम अघि बढाइएको समेत बताउनुभयो । गाउँपालिकाले सबै खर्च गरेर आफ्नो जमिनामा उत्पादन गर्ने अवसर पाउँदा किसानहरु पनि दंग परेका छन् । शिवपुरी ८ का एक किसानले नुवाकोट पुकारसँग भने,गाउँपालिकाको सहयोगमा अहिले राम्रौ आम्दानी गर्न पाएका छौं ।हाम्रा लागि ठुलो कुरा हो ।
राजधानीबाट जम्मा २० किलोमिटरको आसपासमा रहेको गाउँपालिकाको यो अभियानले ३० महिनामा किसानहरुले कृषिकर्ममा राम्रो अनुभव पाउने मात्रै होइन आगामी दिनमा आम्दानीको बाटो समेत पहिल्याउन सक्ने देखिएको छ ।