
काठमाडौं– सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको हो ।
त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगायतका विषयमा सौहार्दपूर्ण रुपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रुपमा अघि बढाइएको बताइन् ।
उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।
त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी थिइन् ।