
काठमाडौँ, भदौ १९ गते । रातिअबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी लगाए जरिवाना लाग्ने भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिटी नलगाउन अनुरोध गरेको हो । प्रहरी कार्यालयले ध्वनी, धुँवा र फोहर प्रदूषण मुक्त छिमेकी अभियानको थालनी गरेसँगै यस्तो अनुरोध गरेको हो ।
ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भन्दै यस्तो अभियानको थालनी गरेको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यसका अलाव सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धमा समेत प्रतिकूल असर पर्ने हुँदा घर, परिवार र छिमेकीको हितका लागि यस्तो अनुरोध गरेको सूचनामा उल्लेख छ ।
राति अबेर शौचालय फलस गर्दा ध्वनी कम गर्ने, राति अबेर वा बिहान सबैरै प्रेसर कुकरमा सिटी नलगाउन प्रहरी कार्यलयको अनुरोध छ । त्यसैगरी, अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न, भान्साका भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न पहरीको अनुरोध छ ।

फोन कल गर्दा आवाज कम गर्न, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन सूचनामा उल्लेख गरेको छ ।
प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने चेतावनी दिएको छ । साथै, टोल–छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।