
नेपालीहरुको महत्वपूर्ण चाड बडा दशैं घर घरमा आइसकेको छ । असोज ६ गते घर घरमा जमरा राखेर विधिपूर्वक घटस्थापना अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना सुरु भएसँगै दशैंको प्रारम्भ भएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । यो क्रम पूर्णीमाको दिनसम्म जारी रहन्छ । पूर्णिमाको दिन दशैंको टिका जमरा बिसर्जन गरेसँगै दशैँ समापन हुनेछ ।
मुलुकमा भएको जेनजी आन्दोलन र त्यसपछिका विभिन्न घटनाक्रमले देशलाई एक प्रकारको शून्यतामा पुर्याएको थियो । भदौं २३ गते जेन जी युवाहरुको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जना युवाहरुको ज्यान गएसँगै त्यसको विरोधमा भदौं २४ गते भएको आन्दोलनबाट ठुलो मात्रामा जनधनको क्षति हुन पुगेको अवस्था छ ।
जनधनको क्षतिसँगै मुलुकका अत्यन्त महत्वपूर्ण संरसचनाहरु सर्वोच्च अदालत, सिंहदरबार जस्ता अति महत्वपूर्ण स्थान र त्यहाँ रहेका कागजातहरु जलेर नष्ट भएका छन् । आन्दोलनका क्रममा एकसय भन्दा बढि राजनीतिक नेताहरुको घरमा आगजनी गरिएको छ । प्रहरीचौकीदेखि धेरै सरकारी कार्यालयहरु आगजनी गर्दै नष्ट पारिएका छन् ।
आन्दोलनमा भएको घुसपैठका कारण उत्पन्न भएको हिंम्सात्मक गतिविधिका कारण थप ५० भन्दा बढिको ज्यान समेत गएको छ । आन्दोलनका नाममा भएका उत्ऋंखल गतिविधिका कारण ठुला ठुला व्यापारिक घरानाका उद्योगहरु जलाइएका छन् । भाटभटेनीका अधिकांश शाखाहरुमा आगजनी गरेर ध्वस्त पारिएको छ ।
चौधरी ग्रुपका धेरै उद्योगहरुमा पनि आगजनी गरिएका छन् । यस्तै अर्का प्रशिद्ध उद्योगी चन्द्र ढकालको नेतृत्वमा रहेको चन्द्रागिरी केबलकारमा पनि आगजनी गरेर ध्वस्त पारिएको छ । यसले धेरै मानिसलाई बेरोजगार मात्रै बनाएको छैन अन्तराष्ट्यि जगतमा समेत नेपालप्रतिको विश्वसनियतामा आँच आएको छ । पर्यटकीय सिजनका बेला यतिखेर महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु सुनसान बन्न पुगेका छन् ।
यो विषम परिस्थितिमा हाम्रा घर आगँनामा दशैँ आएको छ । दशैं भन्ने वित्तिक्कै पारिवारिक मेलमिलाकासाथ मिठो मसिनो खाने र नयाँ लुगा लगाउने प्रचलन रहेको छ । यसकासाथै बिजया दशमीका दिन मान्यजनबाट आर्शिवाद ग्रहण गर्ने र आफूभन्दा सानालाई आर्शिवाद प्रदान गर्ने गरिन्छ । यो पर्व एक प्रकारको मेलमिलापको पर्व पनि हो । घरबाहिर कामका लागि गएका र विदेशिएकाहरु समेत दशैंका लागि आफ्नो जन्मथलो फर्कने गर्दछ् । यसले आपसी एकता, भाईचारा र मेलमिलाप कायम गर्ने हुनाले व्यवहारिक रुपमा पनि दशैंको महत्व छुट्टै रहेको छ ।
आम परिस्थितिकाबीच हामीले आआफ्नो क्षमता र गच्छ अनुसार परिवारसँग मिलेर दशैं मनाउन आवश्यक देखिन्छ । हुनेखानेहरुको देखासिखी गर्नुभन्दा पनि आआफ्नो क्षमता अनुसार परिवारमा एक प्रकारको मेलमिलाप कायम गर्न सकियो भने हामीमाथि आइपरेका विगतका दुःखहरुलाई सामाना गर्न सहज हुनेछ ।
अर्कोतर्फ देशमा पूराना दलहरुका कारण यो अवस्था आउन पुगेको कुरामा सामान्य बालककले समेत ज्ञान राख्न सक्ने अवस्था छ । यो अवस्थामा नयाँ आएका शक्तिहरुले पनि अब हामीमात्रै हौं भन्ने भावानको विकास गर्न छाडेर सबैलाई मिलाएर लैजाने वातावरण तयार पार्नुपर्दछ ।
यस्तै पूराना दलहरु जो नेपालको लोकतान्त्रिक इतिहास निर्माणका लागि योगदान गरेका छन् । उनीहरुले पनि आफूलाई सुधार गर्दै अघि बढ्न सक्नुपर्दछ । यसले नै देशको सार्वभौम अस्तित्वलाई कायम राख्न सक्छ । नब यो विषम परिस्थितिमा हामीले यैर्यता गुमाउन पुग्यो भने भोलि देशको अस्तित्व जोगाउन समेत मुस्किल पर्ने दिन आउन सकछ । यसतर्फ सबैको ध्इान पुग्नु जरुरी छ । बडा दशैंका अवसरमा माता दुर्गा भवानीले सबैलाई सद्बुद्धि प्रदान गरुन र देशले निर्वाचनमार्फत चाडैं नयाँ गन्तव्य पहिल्याउन सकोस् । बडा दशैंको हार्दिक शुभकामना ।