
८ असोज, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज बिहानबाट थालिएको छ ।
पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।मंगलबार दिउँसो करिब ४.५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलास्थित सडकमा मंगलबार खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनका एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । सडकमा सवारी साधनहरुको लामो जाम देखिन्छ । सवारी साधनहरुको लाइन कुरिनटारसम्मै पुगिसकेको प्रहरीले बताएको छ ।