
८ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् ।
बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्याग गर्ने प्रस्ताव गरसँगै बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले अध्यक्ष भट्टराईले पद त्याग्ने प्रस्ताव बैठकमा राख्नुभएको र फागुनमा विशेष महाधिवेशनमा जाने प्रस्तावमाथि छलफल गरिरहेको बताइन् ।
बैठकका निर्णयहरूबारे जानकारी दिन नेसपा नयाँ शक्तिले विहीबार पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएको छ । जेनजी आन्दोलनपछि पुराना दलहरुलाई पुनर्रगठन गर्नुपर्ने आवाज चर्को रुपमा बढिरेहका बेला नेताहरुले धमाधम नेतृत्व छाड्न थालेका छन् ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि केन्द्रीय समिति भंग गर्दै आफ्नै नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए । दाहालको उक्त प्रस्तावलाई आजको स्थायी कमिटिको बैठकले अनुमोदन समेत गरेको छ ।