
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार तोड्फोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाउनुभएको छ ।
भक्तपुरको गुण्डुमा शनिबार राष्ट्रिय युवा संघ नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको उहाँको भनाइ छ । उहाँले आफूले देश र जनताको पक्षमा काम गरेको दावी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिनुभयो । आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले कहीं भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौती दिनुभएको छ।
अध्यक्ष ओलीले एमालेले सधैंं सरकारको नेतृत्व गर्दा छलछाम र षड्यन्त्रका कुनै पनि गतिविधि नगरेको पनि दोहोर्याउनुभयो । अध्यक्ष ओलीले आफूहरुलाई देश छाडेर भाग्न खोजेका भन्दै पासपोर्ट रोक्ने हल्ला चलाइएको भन्दै सरकारलाई उल्टै प्रश्न गर्नुभयो, अध्यक्ष ओलीले भन्नुभयो, हाम्रो पासपोर्ट रोक्ने रे, के हामी यस्ता हा हु सरकारलाई देश जिम्मा लगाएर जान्छौं ठानेको, हामी यस देशमा शान्ति र लोकतन्त्र स्थापना गछौं र देशको विकास गछौं ।