
फाइल तस्बिर
विदुर ।नुवाकोट जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विपद्को जोखिम नभएकाले कार्यालय सुचारु गर्न लागिएको हो ।प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेले एक सूचना जारी गर्दै जिल्ला भित्रका सबै सरकारी , गैरसरकारी तथा संघ संस्थाका कार्यालय आजबाट सञ्चालनका लागि सूचना जारी गर्नुभएको छ ।
यसअघि गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।
मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आइतबार जारी गर्नुभएको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ । यही असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन् ।
