
विदुर असोज २० नुवाकोट जिल्लाको विदुर नगरपालिका–१ ढुङ्गेमा यात्रुवाहक बसभित्रै एक युवक मृत अवस्थामा फेला परेका छन्।
मृत युवक विदुर नगरपालिका–९ लामाटारका २५ वर्षीय अमृत विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट किस्पाङतर्फ गइरहेको प्रदेश ३–०१–००५ ख ९४६५ नम्बरको बसमा सोमबार दिउँसो करिब ३.३५ बजे विश्वकर्मा आफ्नै सिटमा अचेत अवस्थामा भेटिएका थिए। उनलाई तत्कालै त्रिशूली अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा साँझ ४.३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा उनले अत्यधिक मात्रामा लागुऔषध सेवन गरेको आशंका गरिएको प्रहरीले जनाएको छ। अस्पतालको प्रारम्भिक रिपोर्टमा समेत सो देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।