
सांकेतिक तस्बिर
नुवाकोट, असोज २२ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलोपाटामा श्रीमाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । उनले हातबाट खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५० वर्षीय जितमान तामाङले घरायसी विवादका क्रममा आफ्नी ४९ वर्षीया श्रीमती सविना तामाङ (पहिले परिचित नाम – श्रीमेन्द्रो तामाङ) माथि खुकुरी प्रहार गरी हत्या गरेका हुन्। घटना हिजो साँझ करिब ६ बजेको आसपासमा भएको बताइएको छ।
घटनाको जानकारी राति करिब १२:५० बजे प्राप्त भएपछि प्रहरी टोली तत्कालै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीले घटनामा संलग्न जितमान तामाङलाई नियन्त्रणमा लिई घटनामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) समेत बरामद गरेको जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार घटनाको कारण पारिवारिक विवाद रहेको अनुमान गरिएको छ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली पठाएको छ।