नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले हुलाक सेवा मार्फत घरमै राहदानी वितरण गर्ने व्यवस्था सुरु गरेको छ ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यअनुसार “गभर्मेन्ट कुरियर सर्भिस” का रूपमा हुलाक सेवालाई विकास गरिएको जनाएको छ ।
कार्यालयका अनुसार राहदानी, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने निर्णयअनुसार नुवाकोटमा पनि सेवा कार्यान्वयनमा ल्याइएको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला हुलाक कार्यालय नुवाकोटबीच २०८३ वैशाख २२ गते सम्झौता भएको उल्लेख गरिएको छ ।
अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आवेदनकै समयमा हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्न चाहेको जानकारी गराई तोकिएको हुलाक शुल्क बुझाउनुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्