काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले आफू र ज्योति विकास बैंकको मिलेमतोमा जालसाजी गरी जग्गा हडपेको भन्ने आरोपको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सार्वजनिक गर्नुभएको छ।
आफुहरु पीडित भएको भन्दै ज्याेति विकास बैककाे केन्द्रीय कार्यालय अगाडि लामासहितकाे तस्बिर राखेर व्यानरकासाथ धर्ना दिएकाे भिडियाे सार्वजनिक भएपछि शुक्रबार जारी विज्ञप्तिमा लामाले सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रचार गरेर आफ्नो चरित्रहत्या गर्ने नियोजित प्रयास भएको दाबी गर्नुभएको छ। सत्यतथ्य नबुझी यस्ता सामग्री प्रकाशन वा प्रचारप्रसार नगर्न उहाँले सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ।
लामाले सार्वजनिक भएको सामग्रीमा आफू र ज्योति विकास बैंकको मिलेमतोमा जग्गा लिलाम गराइएको तथा आफूले नै स्वीकार गरेको भन्ने आरोप लगाइएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताउनुभएको छ।
लामाले जारी गर्नुभएको विज्ञप्तिअनुसार किस्पाङ–३ निवासी च्याउकी माया तामाङले काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित आफ्नो घरजग्गा धितो राखी चार वर्षअघि ज्योति विकास बैंकको नेपालटार शाखाबाट घर निर्माण कर्जा लिनुभएको थियो।
आर्थिक अभावका कारण पछिल्ला दुई वर्षदेखि कर्जा तथा ब्याज नियमित रूपमा तिर्न नसकेपछि बैंकले पटक–पटक ताकेता गर्दै चार पटकसम्म लिलामको सूचना प्रकाशित गरेको लामाले उल्लेख गर्नुभएको छ।
लामाका अनुसार तीन पटकसम्म पनि कसैले उक्त सम्पत्ति लिलाम स्वीकार नगरेपछि चौथो सूचना प्रकाशित भएपछि जग्गाधनी च्याउकी माया तामाङकै अनुरोध, स्थानीयको आग्रह तथा आफूसँग नातासम्बन्धसमेत रहेकाले कानुनी प्रक्रिया पूरा गरी लिलाम स्वीकार गरेको दाबी गर्नुभएको छ।
लामाले वास्तविकता यस्तो हुँदाहुँदै आफूलाई बदनाम गर्ने उद्देश्यले गलत प्रचार गरिएको भन्दै त्यसप्रति खेद व्यक्त गर्नुभएको छ। यस्ता आधारहीन आरोपलाई थप प्रचारप्रसार गरे कानुनी उपचार खोज्न बाध्य हुने चेतावनीसमेत उहाँले विज्ञप्तिमार्फत दिनुभएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्